दमक/ लागुऔषध नियन्त्रण र सामाजिक कुरीतिहरुको अन्त्यका बिषयमा दमक ३ मा सरोकारवालाहरुले सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन ।
उनीहरुले लागुपदार्थको किनबेच र प्रयोगमा पूर्ण रोक लगाउने सम्बन्धि कानुनको कार्यान्वयनमा सहयोग गर्नुका साथै लैंगिक तथा जातीय विभेद अन्त्यका लागि आआफनो तर्फबाट प्रतिबद्धतासहित सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन ।
दमक नगरपालिकाको आयोजनामा दमक ३ ढुकुरपानीस्थित रामचन्द्र मन्दिरको सभाकक्षमा सञ्चालित यस सम्बन्धिको कार्यक्रममा स्थानीय सरकार, प्रहरी , प्रशासन तथा राज्यका निकायहरु समेत लागुपदार्थ नियन्त्रणमा कडाइँका साथ प्रस्तुत हुनुपर्ने निष्कर्ष निकाल्दै स्थानीय टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दल, सामाजिक संघ संस्था, शैक्षिक संस्थाहरु लगायत सरोकारवालाहरु १५० जनाले त्यस्तो प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले आगामी पुष २६ गते सम्ममा नगरका १० वटै वडामा यस किसिमको प्रतिबद्धतामा हस्ताक्षर गर्ने काम पुरा भएपछि सिंगै नगरबासीको साझा अठोट र प्रतिबद्धता अनुरुप लागुपदार्थ रोकथाम तथा नियन्त्रणका साथै सामाजिक कुरिती विरुद्ध कठोर कदम चालिने उदघोष गरे । उनले भने–कुनै पार्टी, जाती नभनि सबैको साझा अठोट र प्रतिबद्धता अनुसार लागुपदार्थ विरुद्ध नगरबासीहरु एक भएको सन्देशको पहिलो खाँचो छ । त्यसै अनुरुप यसअघि दमक १ र २ नम्बर वडामा यस्तै प्रकृतिको कार्यक्रम भइसकेको नगर प्रमुख थापाले बताए । उनले नगरपालिकाले मठ मन्दिर र बिद्यालय वरपरको सय मिटर दुरीभित्र सुर्ती तथा सुर्तीजन्य र मदिराको बिक्री वितरणमा रोक लगाइएको स्मरण गराउँदै लागुपदार्थ नियन्त्रण गर्न बनेको नेपालको प्रचलित कानुन बमोजिम हुने कारवाहीका लागि सबैलाई सहयोग गर्न आव्हान गरे ।
कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले लागुऔषधको समस्या झापामा विकराल बन्दै गएको र मेचीनगरपछि दमक यसको सबैभन्दा बढी प्रभाव र जोखिम क्षेत्रका रुपमा हुनु दमक नगरबासीका लागि निक्कै दुखदायी बिषय भएको चर्चा गरिन । उनले कुनै एक निकाय वा व्यक्तिको मात्रै प्रयासले यसको समाधान सम्भव नहुने भएकाले आम नगरबासीले यसलाई सकारात्मक रुपमा लिएर लागुऔषधको कारोबार र उपयोगलाई निस्तेज पार्नुपर्ने धारणा राखिन ।
उनले वडा वडामा लागुऔषध नियन्त्रण तथा सामाजिक कुरितीहरुका विरुद्ध वडाध्यक्षको अध्यक्षतामा समितिहरु गठन भइसकेको स्मरण गराउँदै सो समितिलाई आवश्यक सहयोग गर्न प्रत्येक घर टोलबासीलाई आग्रह गरिन । उनले लागुऔषधका कारण परिवारको कोही पनि एक जना अभिभावक जेल जानुपर्ने अवस्था आउँदा धेरै बालबालिकाहरुको भविष्यनै अन्धकार बन्ने अवस्था आएको बताउँदै स्वास्थ्य, सामाजिक, पारिवारिक प्रतिष्ठा र आर्थिक क्षेत्रमा समेत नोक्सान निम्त्याउने र समाजलाई अपराधीकरण तर्फ धकेल्ने जटिल समस्याका रुपमा लागुपदार्थको समस्या देखिएको बताइन ।
दमक ३ का वडाध्यक्ष नविन बरालले समाजमा विभिन्न बहानामा युवाहरु लागुऔषधको प्रयोगमा फस्दै गएको घटनाले चिन्तित बनाएको बताउँदै वडाबासीहरुलाई घर घरबाट लागुऔषध विरुद्धको अभियानमा साथ दिन अपिल गरे ।  सो अवसरमा सहभागीहरुका तर्फबाट शान्तिराम गौतम, टिकेन्द्र घिमिरे लगायतले लागुऔषधको किनबेचमा मात्रै नभएर उत्पादनमानै पूर्ण कडाइँसाथ रोक लगाउनुपर्ने आवश्यकता खडकिएको सुझाएका थिए । सो कार्यक्रमको सञ्चालन नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख केशव प्रसाइँले गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका निरिक्षक डम्बर विश्वकर्मा, स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, बिद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधिहरु लगायतको आतिथ्य रहेको थियो ।

Facebook Comments Box