दमक /  किरात याक्थुङ चुम्लुङले झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशालामा आयोजना गरेको चासोक तङनामको आयव्यय सार्वजनिक गरेको छ । चुम्लुङ दमक नगर शाखा र कमल गाउँ शाखाले मंगलवार दमकमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरि चासोकको आयव्यय सार्वजनिक गरेको हो ।  दुवै संस्थाले गत पुस १० गते संयुक्त रुपमा चासोक भव्य रुपले मनाएको थियो ।

चासोक तङनाम मूल आयोजक समितिका संयोजक समेत रहेका चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले चासोकको यथार्थ आम्दानी तथा खर्च विवरण सार्वजनिक गरे । उनका अनुसार चासोक  सम्पन्न गर्न विभिन्न चन्दादाता, सरसहयोगबाट ५ लाख २८ हजार ५ सय २० रुपैया संकलन भएको र खर्च भने ५ लाख ५७ हजार ३ सय ६५ सय रुपैया भएको छ । कार्यक्रममा  करिव ३० हजार रुपैया घाटा भएको उल्लेख छ ।  सो घाटा रकम चुम्लुङका दमक नगर अध्यक्ष चेम्जोङले ब्यहोर्ने सार्वजनिक गरिएको छ ।

संयोजक चेम्जोङले चासोक भव्य रुपले सम्पन्न सहयोग पुरयाँउने सवैमा धन्यवाद दिने समेत निर्णय भएको बताए । हालै सम्पन्न भएको सो चासोक कार्यक्रमको मंगलवार विहान समिक्षा बैठकको समेत आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा चुम्लुङ झापा शाखा अध्यक्ष शेसेहाङ फियाकले आदिवासी रंगशालामा आयोजना गरिएको यो चासोक तङनाम २०८० ऐतिहासिक रुपमा सफल भएको दावी गरे ।

तर, झापामै आधा दर्जन बढी ठाँउमा आयोजना गरिएका चासोक तङनामको हालसम्म खर्च विवरण सार्वजनिक गरेका छैनन् । जिल्लाको बुद्धशान्ति, शिवसताक्षीको दुधे, धरमपुरमा सम्पन्न भएका चासोकको यथार्थ आयव्यय सार्वजनिक भएका छैनन् । यी तिनै ठाउँमा  चासोक सम्पन्न भएको थियो ।

Facebook Comments Box