काठमाडौं/नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयन भएको छ । गएराती भएको संघको निर्वाचनमा प्रगतिशील समुहको प्यानललाई पराजित गर्दै लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको हो ।
संघको २७ औं साधारणसभा अन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् । उनले कूल ३३० मत प्राप्त गरेका थिए ।

संघको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका थिए । संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् ।
यस्तै सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले पनि जित हासिल गरेका छन् ।
संघको निर्वाचनमा कूल ६२१ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावरको धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनी निर्वाचन प्रक्रियामा नै सहभागी भएका थिएनन् ।