दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसको ४३ औं बार्षिकोत्सवको अवसर पारेर आजदेखि खेल सप्ताह शुरु भएको छ ।
बुधबार (आज)देखि शुरु भएको खेल सप्ताहको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उदघाटन गर्दै बिद्यार्थीहरुमा खेलकुदले स्वस्थ र अनुशासित बन्न प्रेरित गर्ने बताए । अध्ययनसंगै खेलको विकासमा यस्ता प्रतियोगिताले सघाउ पुरयाउँनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।
क्याम्पस प्रमुख यज्ञराज गिरी (राम ) का अनुसार क्याम्पसको बार्षिकोत्सवसहित बार्षिक कार्यक्रम अन्तर्गत आजदेखि शुरु भई १६ पुससम्म फूटवल ,भलिवल,व्याडमिन्टन,क्रिकेट लगायत विभिन्न ११ वटा किसिमका प्रतियोगितात्मक खेल सञ्चालन हुने छ ।
प्रतियोगितामा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका ११ वटा समूहले भाग लिएका छन् । खेल सप्ताहको उदघाटनका अवसरमा प्राध्यापक,कर्मचारी र स्वतन्त्र विद्यार्थी यूनियनका बीच मैत्रीपूर्ण खेल भएको थियो ।
क्याम्पसका सदस्य समेत रहेका खेलुकद समितिका संयोजक मोहन धिमालको अध्यक्षतामा भएको खेल सप्ताह उदघाटनमा क्याम्पसका अध्यक्ष ढुण्डीराज भण्डारीसहित सञ्चालक समिति, स्वतन्त्र बिद्यार्थी युनियन, राजनीतिक तथा शैक्षिक व्यक्तित्वहरु, प्राध्यापकहरु एवं कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।