दमक/ झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरुसँग नेपाल प्रेस युनियन झापाले अन्तरक्रिया कार्यक्रम गरेको छ । पालिकाबाट सञ्चालित समग्र बिकासका योजनहरु, नागरिकहरुका समस्या र चुनौतीहरुका बिषयमा केन्द्रित भएर पत्रकारहरु र जनप्रतिनिधिहरुबीच अन्तरक्रिया गरिएको हो ।
स्थानीय तहको निर्वाचन २०७९ पछि पालिकामा नागरिकहरुले अनुभुति गर्ने गरी बिकासका कामहरु अघि बढिरहेको जनप्रतिनिधिहरुको दाबी छ ।
कचनकवल गाउँपलिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजबंशीले गाउँपालिकाको सिमति स्रोत र साधनका माध्यमबाटपनि अधिकतम समस्या समाधानका लागि काम भइरहेको उल्लेख गरे । उनले सातै वटा वडामा कम्तीमा एक – एक वटा बाटो कालोपत्रे गर्नका लागि रकम बिनियोजन गरिएको बताए । ग्राभेल सडक पटक पटक मर्मत गर्दा साधन र स्रोतको धेरै खर्च हुने भएकोले हरेक बर्ष थोरै थोरै गरेर भए पनि आफुहरुको कार्यकालमा सबै वडाका मुख्य बाटोहरु कालोपत्रे गर्ने गरी योजना अघि बढाईएको अध्यक्ष राजवंशीले बताए ।
युनियन झापा अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष राजबंशीले सिँचाईको सुविधाका लागि डिप बोरिङ, कृषकहरुलाई तोरी खेतीमा अनुदान, राँगाका पाडा अनुदान दिने कार्यक्रमदेखी स्थानिय परिकार पाटाको पत्ता सुकाएर बनाईने सुकाती उत्पादनका लागि अनुदान लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा कचनकवल गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष चिन्तामणी खरेलले आफुहरु निर्वाचित भएर आए देखी बनाएका योजनाले पालिकामा आवश्यक पुल पुलेसाहरु बनेको, १ हजार ५ सय जना बिपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिएको, खानेपानी सबैको घरमा पुर्याउने योजना अघि बढाईएको तथ्यांक प्रस्तुत गर्दै नागरिकले अनुभुति गर्ने गरी बिकासका योजना सञ्चालन गरिएको बताए ।
त्यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष भरत राजबंशीले मृतक परिवारले किरिया खर्च बपात ५ हजार रुपैयाँ दिईंदै आएको, कृषकलाई अनुदानमा बाख्रा वितरण जस्ता कार्यक्रमले बिपन्नलाई ठुलो राहत मिलेको बताए ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाल प्रेस युनियन झापा अध्यक्ष भट्टराईले पालिकामा सञ्चालन गरिएका कार्यक्रमहरुबारे नागरिकहरुलाई सुसुचित गराउन जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया गरिएको बताए ।
कार्यक्रममा प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले नेपालकै होचो ठाउँलाई पालिकाले पर्यटक आकर्षणको केन्द्र बनाउन सके त्यसबाट लाभ लिन सक्ने सुझाव दिए ।
प्रेस युनियन झापा सह सचिव जसोदा राजबंशीले सञ्चालन गरेको कार्यक्रममा प्रेस युनियन झापा उपाध्यक्ष ईश्वर अधिकारीले जिल्लाका अन्य पालिकाहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिईने बताए ।