दमक/झापाको दमकमा नगरपालिका र जिल्ला समन्वय समितिको करिब ४ करोड रुपैयाँको लागतमा आधुनिक सपिङ कम्प्लेक्स निर्माण शुरु भएको छ । वडा नं ६ स्थित पुरानो सब्जी बजार नजिकै रहेको नगरपालिकाको स्वामित्वको करिब साढे ३ कठठ जग्गामा ९ फिट गहिरो अण्डरग्राउण्डसहित पाँच तलाको कम्प्लेक्स भवन निर्माण शुरु भएको हो ।
सो भवनको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शिलान्यास गरेका छन् । नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार १८ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरि प्रतिस्पर्धाका आधारमा याक्थुम्हाङ सास जेभीलाई निर्माणको जिम्मा दिइएको छ । कूल ५ करोड ८१ लाख रुपैयाँ लागत स्टिमेट अनुमान गरिएको सो योजना ३ करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको तिम्सिनाले जनाए ।सो मध्ये १ करोड रुपैयाँ जिल्ला समन्वय समितिको र २ करोड ७१ लाख रुपैयाँ नगरपालिकाको स्रोतबाट खर्चिइने जनाइएको छ ।