दमक/ दमक ४ स्थित आस्था कलेजका विद्यार्थीहरुलाई लक्षित गर्दै दमकमा क्रियासील सामाजिक संस्था जीवन चक्र समाजले आज रक्तदान सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
कलेजमा अध्ययनरत सय बढी विद्यार्थीहरुलाई रक्तदानको महत्वसंगै सडक दुर्घटना रोकथामका लागि सर्वसाधारणले अपनाउन सकिने सावधानीका बारेमा अनुशिक्षण सञ्चालन गरिएको समाजका अध्यक्ष गणेश प्रसाद गौतमले जानकारी दिए ।
समाजका सदस्य बेनुराज प्रसाईको संयोजकत्वमा भएको सो अनुशिक्षण कार्यक्रममा अध्यक्ष गौतम, संयोजक प्रसाईसहित पत्रकार टिकाराम उप्रेती , रक्तसञ्चार सेवा केन्द्रका सिद्धार्थ दाहाल लगायतले नियमित रक्तदान गर्दाका फाइदा र सडक दुर्घटना न्यूनीकरणका बारेमा आधारभूत सहजीकरण गरेका थिए । क्याम्पस प्रमुख टेकनाथ भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बिद्यार्थीहरुले रक्तदान तथा सडक दुर्घटनामा सावधानीका बारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए ।