दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन जितेको झापा क्षेत्र नं ५ अन्तगर्तका दुई मुख्य बजारमा आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कार्यशैली विरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेको छ ।
दमकको गणतन्त्र चोकमा विरोध सभा र गौरादहमा र्यालीसहितको विरोध सभा गरेको हो । पार्टीले दुई सातादे िखजारी राखेको दोश्रो चरणको हिमाल पहाड तराई मधेस जनजागरण कार्यक्रम अन्तर्गत झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा ख क्षेत्रको आयोजनामा दमक चोकमा भएको सभालाई सम्बोधन गर्दै वक्ताहरुले सरकारको कार्यशैली राज्य र सामाजिक संघ संस्थाहरुमा पार्टीकरण भएको भन्दै कडा विरोध जनाए ।
वक्ताहरुले बलियो सरकारबाट जनताले गरेको अपेक्षा विपरीत वर्तमान सरकार अघि बढेकाले चरणवद्ध विरोधका कार्यक्रमहरु ल्याएर जनअधिकारको ग्यारेन्टीका लागि र लोकतन्त्र रक्षाका लागि कांग्रेसले नेतृत्व लिने बताए ।
अभियानका केन्द्रिय प्रतिनिधी विनोद राईले कांग्रेसले जनजागरण मार्फत सरकारलाई सांकेतिक विरोध प्रस्तुत गरेको र थप कार्यक्रमहरु जारी राख्ने बताए ।

सभामा कांग्रेस सांसद एवम् नेतृ महेन्द्रकुमारी लिम्बुले प्रहरी प्रशासनमा समेत नेकपाको पार्टीकरण बढेको भन्दै सरकारका मन्त्रीहरुको इसारामा प्रहरीले अपराधीलाई संरक्षण गर्दा न्याय हराउँदै गएको दृष्टान्तका रुपमा निर्मलासहित देशभर भएका महिलामाथिका अपराधका घट्नाहरुलाई लिन सकिने बताइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सभापति शेर बहादुर देउवाका बिषयमा केहि दिन अघि दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउँदै र दमकमा केहि बर्ष अघिको एउटा चुनावी कार्यक्रममा जनता सामु उनले मदन भण्डारीका हत्यारा पत्ता लगाउन गरेको प्रतिबद्धताको पालना गर्न नसकेको भनि आलोचना गरिन् । सांसद लिम्बुले आफू पनि जनताको प्रतिनिधि भएको स्मरण गराउँदै जनतामाथिको अन्यायका विरुद्ध आफू जुनसुकै आन्दोलनको नेतृत्व लिन पनि तयार रहेको उद्घोष गरिन् ।
अर्का वक्ता कांग्रेस झापाका उपसभापति राम कट्टेलले राज्यका निकायहरुमा बढ्दो पार्टीकरण र तानाशाही प्रवृत्तीले लोकतन्त्रमाथिनै खतरा बढेको औंल्याए ।
कार्यक्रममा पार्टीका जिल्ला उपसभापति राम कटटेलले पनि मन्तव्य राखेको थियो । पार्टीका ५ नम्बर क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले स्थानीय तहमा नागरिकले बुझाएको करको सहि सदुपयोग हुन नसकेको भन्दै केन्द्रिय बजेटबाट मात्रै विकासे कामहरु भईरहेको टिप्पणी गरे । सो कार्यक्रम प्रदेश ख क्षेत्रका संयोजक पदम लिम्बुको सभापतित्वमा भएको थियो ।