दमक/ दमक–१० मा आउँदो मंसिर २७ गतेदेखि पुष ३ गतेसम्म इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता  हुने भएको छ ।  दमक–१० मा अवस्थित पर्यटकीय क्षेत्र इन्द्रेणी तालको प्रचारप्रसार र प्रवर्दनमा सघाउ पुर्याउने उदेश्यले फुटबल टुर्नामेन्टको आयोजना गरिएको आयोजक इन्द्रेणी युवा क्लबले जनाएको छ ।

२०६३ सालमा सेतुमारीका संचेत युवाहरुले स्थापना गरेको सो क्लबले ९ बर्षपछि फुटबल टुर्नामेन्ट आयोजना गरेको शुक्रबार इन्द्रेणी ताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
क्लबका अध्यक्ष सुवास सुवेदीका अनुसार टुर्नामेन्टमा झापा, मोरङ र इलामका गरी हालः १२ वटा टिमले सहभागिता जनाउने छन । प्रतियोगिता सम्पन्न गर्न झण्डै पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ ।
‘मानव स्वास्थ्य सचेतना, खेलकुद क्षेत्रको विकास, युवा पुस्तालाई लागु औषधको कुलतबाट जोगाउने र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
प्रतियोगताका लागि टाइटल स्पोन्सर खोजी गरिएको अध्यक्ष सुवेदीले बताए । ‘हामीले दुई लाख सहयोग गर्ने दाताको नाम यस प्रतियोगिताको सुरुमा उल्लेख गर्ने निर्णय गरेका छौं – उनले भने ।
दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारीले युवा पुस्तालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्ने र प्रोत्साहित गर्ने क्लबको उद्धेश्य र लक्ष्य आफैंमा प्रशंसनिय भएको उल्लेख गर्दै वडाको तर्फबाट सहयोगको प्रतिबद्धता जनाए ।

कार्यक्रममा स्थानीय सामाजिक व्यक्तित्व तथा हालः बेलायती सैनिकमा कार्यरत रोहित राई र क्लबका संस्थापक अध्यक्ष नगेन्द्रमणि न्यौपानेले प्रतियोगितामा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उल्लेख गरे ।
क्लबले देउसीभैलो खेलेर जम्मा गरेको ६० हजार छ सय २२ सहित दुई लाख २० हजार अन्य दाताबाट सहयोग प्राप्त गरिने अनुमान गरिएको क्लबले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार वापतको ५० हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शल आर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रोहित राईले उपलब्ध गराउने घोषणा गरे । त्यस्तै, दोस्रो पुरस्कारको लागि पुरुषोत्तम भट्टराईले रु ३० हजार उपलब्ध गराएका छन् भने अनुशासित टीमको पुरस्कारको लागि १५ हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रञ्जन राईले उपलब्ध गराउने बताइएको छ ।

Facebook Comments Box