नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-३ स्थायी बसोबास गर्ने हाल काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा चिसंखुगढी गाउँपालिका-८ घर भएर ललितपुर सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देही तिलोत्तमा नगरपालिका-२१ कोटिहवा स्थायी घर भएका र हाल काठमाडौंको तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपाने रहेका छन् ।
काठमाडौं उपत्यकाका क्यासिनोहरुमा हुने विभिन्न कृयाकलापहरू माथि निगरानी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए ।
नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाइको छ । यहाँका क्यासिनोमा प्रवेश गरेर जुवातास खेल्नकै लागि भारतीय आधार कार्ड बनाउने गिरोह नै संलग्न भएको प्रहरीको भनाइ छ । पक्राउ परेका ३ जनाबाट थप सूचना संकलन हुने भन्दै प्रहरी गिरोहसम्म पुग्ने जनाउँछ ।