ईटहरी/ यातायात कार्यालय ईटहरीमा रहँदा सरकारी राजश्व हिनामिनाको आरोप लागेका उपसचिव मणिराज दाहालसहित पाँच जना पक्राउ परेका छन ।
भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भई फरार पाँच जना प्रतिवादी पक्राउ परेका नेपाल प्रहरीले जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-३ बस्ने ४९ वर्षीय दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टीकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र सोही महानगरपालिका-४ बस्ने ६४ वर्षीय नयराज नेपाल रहेका छन् ।
विशेष अदालत बबरमहल काठमाडौंको फैसलाबाट उनीहरूमध्ये मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना, नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार र ३४२ रुपैयाँ जरिवाना, कुमार बहादुरलाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना तोकेको थियो ।
यसैगरी टीकारामलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रूपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६६७ रूपैयाँ जरिवाना फैसला भएको थियो । उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।