दमक/ झापाको दमकमा पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन शनिबार हुँदैछ । दमकको पशुपति मन्दिरस्थित पशुपति सेवा सदनमा मसिंर १६ र १७ गते दुई दिन सम्म हुने महाधिवेशनमा सहभागी हुन देशभरका ७ वटै प्रदेशबाट करिब १५० भन्दा धेरै योगकर्ता प्रतिनिधिहरु दमकमा भेला भएका छन ।
महाधिवेशनको अन्तिम तयारीको अवसरमा शुक्रबार रहनसहन, खानपान लगायत मानव जीवनमा योगको महत्वका बिषयमा पातञ्जल योग समितिका राष्ट्रिय उपाध्यक्ष समेत रहेका योग प्रशिक्षक सुवर्ण चित्रकारले सहभागीहरुलाई प्रशिक्षण दिएका छन । प्रशिक्षण पश्चात राष्ट्रिय महाधिवेशन आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवालले योगका बिषयमा आम नागरिकहरुका घर घरमा प्रशिक्षण पुरयाइनु आवश्यक भएको बताए । उनले दमकमा यो महाधिवेशन हुनुले योगभुमी भएको पुष्टि गरेको बताउँदै आफूहरुको उद्धेश्य २०७५ मा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाजकल्याण परिषदमा आवद्ध यो संस्था योग बिधाको बैधानिक संस्था भएको बताए । वर्तमान समयमा फैलिएको विकृति, बिसंगती, मानसिक तनाव र चारित्रिक विचलनलाई रोकथाम गर्न योगको महत्वपूर्ण भुमिका हुने चर्चा गर्दै उनले बिद्यालयहरुमा पठनपाठन हुने पाठयपुस्तकमा नै योग सम्बन्धिका सामग्री योग विशेष कक्षा सञ्चालन गरिनु आवश्यक भएकोमा आफूहरुले जोड दिँदै आएको उल्लेख गरे ।
महाधिवेशन तयारी मूल आयोजक समितिका संयोजक तथा पातञ्जल योग समितिका राष्टिय महासचिव नवराज काफ्लेका अनुसार महाधिवेशनको उदघाटन बालसन्त मोहनशरण देवाचार्यले गर्नेछन । महाधिवेशनले ५१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गर्ने पातञ्जल योग समितिका राष्ट्रिय उपाध्यक्ष होम गौतमले जानकारी दिए ।
महाधिवेशन अन्तर्गत शनिबार बिहान ४.३० बजेदेखि योगाभ्यास कार्यक्रम सञ्चालन हुने र सोपछि प्रभातफेरीको आयोजना गरिने आयोजक समितिले पत्रकार सम्मेलनमा जनाएको छ । त्यस्तै सोही दिन महाधिवेशनको उदघाटन, बन्द सत्रमा सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुनेछ भने आइतबार पनि योगाभ्यास कार्यक्रम पश्चात बिहान साढे १० बजे दमक घोषणा पत्र प्रस्तुत गरिने र नवनिर्वाचितहरुको बधाई, शुभकामना लगायतका कार्यक्रमहरु पश्चात महाधिवेशन समापन गरिनेछ ।