दमक/ नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसबर्षको तिहारमा सञ्चालन गरेको देउसीभैलोमा संकलित रकम मध्येबाट एक जना बिरामी पत्रकारलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

समितिले हाल इटहरी निवासी नेपाल पत्रकार महासंघका कोशी प्रदेश समिति सदस्य पत्रकार पीवि दियालीको उपचारमा सहयोगका लागि सो रकम प्रदान गरेको हो ।

दुवै मिर्गौला खराब भई उपचाररत समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य समेत रहेका पत्रकार दियालीको लागि समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेव राई मार्फत सो रकम प्रदान गरिएको प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेले जानकारी दिए । क्षेत्रीय समितिका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको उपस्थितिमा बुधबार दमकमा आयोजित संक्षिप्त कार्यक्रममा पत्रकार दियालीको शिघ्र स्वास्थ्य लाभको कामनासहित सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा पत्रकार महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रदेश सदस्य विष्णु सुब्बा, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भटट्राई लगायतले प्रेस युनियनको सो कार्यको प्रशंसा गर्दै पत्रकार दियालीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

Facebook Comments Box