दमक/  झापाको कमल ६ का अनिल कार्कीको मृत्युप्रकरणमा पक्राउ परेका सो वडाका वडाध्यक्ष नरेन्द्र भट्टराईसहित तीन जनालाई अदालतले धरौटी मागेको छ ।

आत्महत्या दुरुत्साहनको सो मुद्धामा किटानी जाहेरी पछि पक्राउ परेका वडाध्यक्ष भटटराईलाई ८० हजार रुपैयाँ र मृतक कार्कीकी पत्नी चाहना पोखरेल र ससुरा पुण्यप्रसाद पोखरेललाई जनही डेढ लाख रुपैयाँका दरले धरौटी मागेको हो । झापा जिल्ला अदालतका न्यायधिस भिमबहादुर निरौलाको इजलासमा बुधबार भएको थुनछेक बहसपछि सो आदेश भएको झापा जिल्ला अदालतका श्रेस्तेदार किरण सिंहले जानकारी दिए । अदालतले तोेकेको धरौटी बुधबारनै सम्बन्धित व्यक्तिहरुबाट दाखिला भएको पनि उनले बताए ।

धरौटी बुझाएसँगै उनीहरु रिहा भएका छन । कमल ६ स्थायी घर भई जिल्ला वन कार्यालय पाँचथरमा कार्यरत कार्की गएको दशैं बिदामा घर आएको समयमा महानवमीको दिन पारिवारिक विवाद हुँदा वडाध्यक्ष भटटराई , कार्की पत्नी चाहना र सुसुरा पुण्यप्रसाद पोखरेलले कुटपिट गरेको र सोही कारण उनले दशैंको अन्तिम दिन आत्महत्या गरेका थिए ।

कार्कीका बहिनी, मामा लगायत उनका शुभचिन्तकहरुले कार्कीले न्याय नपाई मर्नु परेको भन्दै न्यायको मागसहित दमकमा उनको शवसहित प्रदर्शन गरेका थिए भने इलाका प्रहरी कार्यालय दमकमा उनीहरु विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले वडाध्यक्ष भटटराईसहित घटनामा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिवद्धता गरेपछि मात्रै कार्कीको शव जिम्मा बुझेका थिए ।

Facebook Comments Box