दमक/ नेकपा एमालेको कोशी प्रदेश समितिमा ११ जना मनोनित भएका छन् । प्रदेश कमिटी बैठकले झापा दमकका घनेन्द्र सुब्बासहित ११ जनालाई प्रदेश समितिमा मनोनित गरेको हो ।
मनोनित हुनेमा मोरङका भूराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी रहेका छन् ।
त्यसैगरी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना र सुनसरीका प्रमोद शेर्पा छन । प्रदेश कमिटीमा मनोनित दमकका घनेन्द्र सुब्बा गत बर्षको मसिंरमा भएको संघ र प्रदेश तहको निर्वाचनताका एमालेमा प्रवेश गरेका नेता हुन । उनी कांग्रेसमा प्रवेश गर्नुअघि राप्रपाको झापा जिल्ला अध्यक्ष थिए । राप्रपाबाट कांग्रेस प्रवेश गरेर क्रियाशील सदस्यता पाएका सुब्बा कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत चुनिएका थिए ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनौटको निर्वाचनमा पराजित भएका सुब्बा कांग्रेसबाट दमकमा मेयरको दाबी गर्दै आएका थिए । सुब्बा मेयरको टिकट नपाएको झोंकमा कांग्रेस छोडेर एमाले प्रवेश गरेका थिए ।
नेकपा एमालेको विधानअनुसार प्रदेश समितिले कुल सदस्य संख्याको १० प्रतिशत सदस्य मनोनित गर्न पाउने व्यवस्था बमोजिम २१५ सदस्यीय प्रदेश समितिमा २५ जना मनोनित गर्न पाउने व्यवस्था छ । सोही अनुसार पहिलो चरणमा ११ जना मनोनित भएका हुन ।
प्रदेश समिति बैठकले ३८ सदस्यीय सचिवालय पनि गठन गरेको छ । यसअनुसार पार्टी स्कुल विभागको प्रमुखमा अध्यक्ष घनश्याम खतिवडा, निर्वाचन विभाग प्रमुखमा टीकाराम चेम्जोङ, संगठन विभाग प्रमुखमा राजकुमार भण्डारी, विज्ञान तथा प्रविधि विभागमा देवान राई, सहरी विकास विभागमा जलवर्षा राजवंशी, संसदीय विभागमा अम्बरबहादुर रायमाझी, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा लछुमन तिवारीलाई मनोनित गरिएको छ ।
वित्तीय तथा कोष व्यवस्थापन विभागमा लालप्रसाद लिम्बू, स्थानीय तह विभागमा प्रेमबहादुर राई, कृषि तथा पशुपंक्षी विभागमा चित्रकुमारी सुब्बा, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा रमेश पोखरेल, भौतिक पूर्वाधार विभागमा रामसिंह राई, शिक्षा तथा मानवस्रोत विभागमा सत्यनारायण चौधरी, अर्थ तथा योजना विभागमा सिर्जना राई, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा उमेश डालमिया, खानेपानी तथा सरसफाइ विभागमा नरेन्द्र बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागमा मोहन डाँगी र प्रदेश मामिला तथा सामान्य प्रशासन विभाग ज्ञानेन्द्र सुवेदीलाई मनोनित गरिएको छ ।