विराटनगर /महान् चाड तिहारको सन्दर्भ पारेर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुभकामना व्यक्त गरेका छन ।
आज आइतबार लक्ष्मीपूजाको दिन शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले नेपाल मौलिक कला र संस्कृतिले भरिपूर्ण देश भएको जनाएका छन ।
चाडपर्वले विविधतामा एकताको सन्देशसमेत दिँदै आएका र यस्तै पर्वको माध्यमबाट वहुल जाति, भाषा र धर्मबीच भाइचार समेत स्थापित हुन पुगेको मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ । दसैँ र तिहारलाई हिन्दुहरूको महान् चाड मानिन्छ ।
यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेको छ ू सन्देशमा उल्लेख छ ।
मानव तथा प्रकृति बिचको सम्बन्ध उजागर गर्ने पर्वको रुपमा स्थापित तिहार (दीपावली, सुकरात) मा गाई, कुकुर, कागलगायत पशुपंक्षीको पूजा हुन्छ । अन्तिम दिन दिदीबहिनी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको प्रतीक स्वरुप भाइटीका लगाइन्छ । गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलन मौलिक संस्कृति संरक्षणको अर्काे महत्वपूर्ण पाटो मानिएको छ ।
तिहारकै सन्दर्भमा नेवार समुदायले म्हपूजा गरी आत्माशुद्धि गर्ने चलन छ । कोशी प्रदेशमा राजवंशी समुदायले हुक्काहुक्की, थारु समुदायले सुकरात, मारवाडी तथा मधेशी समुदायले दीपावलीको नामबाट तिहार मनाउने गर्दछन् ।
जुन नामबाट मनाए पनि तिहार उज्यालो र प्रकाशको पर्व हो । उज्यालो प्रेरणा अनि सफलताको विम्ब भएको र यो चाडमा प्रज्वलित हुने उज्यालोले जीवनमा प्रकाश छर्दै सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना सन्देशमा गरिएको छ ।