दमक/ नेपाली कांग्रेस झापा क्षेत्र नं ५ बाट निर्वाचित महासमिति सदस्यहरुलाई निर्वाचन समितिले औपचारिक कार्यक्रमका बीच प्रमाण पत्र प्रदान गरेको छ ।

दमकस्थित कांग्रेसको पार्टी कार्यालयमा निर्वाचन समितिद्धारा आयोजित संक्षिप्त कार्यक्रममा निर्वाचन अधिकृत बब्रुवन दाहालले निर्वाचित महासमिति सदस्यहरुलाई प्रमाण पत्र हस्तान्तरण गरे ।
सो अवसरमा पार्टीका कोशी प्रदेश समिति सदस्य भुमीराज राई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा क्षेत्र खका सभापति रवि केसी न्यौपाने, दमक नगर सभापति प्रकाश प्रसाइँ, दमक ५ का वडा सभापति चैतन्य बराल, ९ का सभापति युवराज कोइराला लगायत पार्टी नेता, कार्यकर्ताहरु उपस्थित थिए ।

निर्वाचित महासमिति सदस्यहरुलाई बधाई तथा शुभकामना दिदैं क्षेत्रीय सभापति भण्डारीले पार्टी संगठनलाई सशक्त र बलियो बनाउन नीति निर्माणको तहबाटै आवश्यक नीति निर्माणमा नवनिर्वाचित महासमिति सदस्यहरुको अर्थपूर्ण भुमिका हुनेमा विश्वास व्यक्त गरे ।
२३ कार्तिकमा भएको महासमिति सदस्यको निर्वाचनबाट यस क्षेत्रमा खुल्ला तर्फ हुकुमसिंह राई, मेदनी सिटौला, सुरेश सुब्बा, रोहित साह र अनिलकृष्ण प्रसाइँ निर्वाचित भएका थिए । त्यस्तै खुल्ला महिला तर्फ रेगिना भट्टराई प्रसाइँ र लक्ष्मी बारकोटी प्रसाइँ, आदिवासी जनजाती तर्फ अइन्द्रविक्रम केरुङ र फुलवती राजवंशी तथा खर्स आर्य तर्फ डा. नेत्रबहादुर बुढथोकी र मन्धरा चिमरिया पौडेल महासमिति सदस्यमा निर्वाचित भएका थिए ।


त्यस्तै कांग्रेस दमक ५ को वडा समिति र पार्टी सम्बद्ध नेपाल साँस्कृतिक संघले पनि अलग अलग कार्यक्रम गरी देउसीभैलोसहित निर्वाचित महासमिति सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन । वडा समितिले पार्टी कार्यालयमानै देउसीभैलो सञ्चालन गरेको पार्टीका वडा सभापति चैतन्य बरालले जानकारी दिए । पार्टीको कोष निर्माणमा सहयोग पुरयाउने उद्धेश्य समेत राखेर देउसीभैलो सञ्चालन गरिएको बरालले बताए । साँस्कृतिक संघ दमक नगर सभापति टंंक ढकालले संस्कृति संरक्षणमा सहयोग पुरयाउने उद्धेश्यले दमक ८ स्थित संघका केन्द्रिय सदस्य दिलबहादुर बुढाथोकीको निवासमा संस्थागत रुपमै सामुहिक देउसी भैलो सञ्चालन गरिएको थियो ।

Facebook Comments Box