दमक/ नेपाली कांग्रेस दमक नगर समितिले आज अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
पार्टीले तिहार, छठ पर्व लगायतको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने पूर्व तयारी गरेपनि माथिल्लो तहबाट आएको पछिल्लो सर्कुलर अनुसार भुकम्पको प्रभावका कारण कार्यक्रमको स्वरुप परिवर्तन गर्दै कार्यकर्ता भेलामा सिमित गरिएको थियो ।
कांग्रेसले यसअघि गर्ने गरेका कार्यक्रमहरु भन्दा फरक शैलीमा पार्टी कार्यालयमा आयोजना गरिएको सो कार्यक्रमको सभापतित्व नगर सभापति प्रकाश प्रसाइँले गरे भने पार्टीको उपल्लो तहका नेताहरुलाई दर्शक दिर्घामा राखिएको थियो । मञ्च तर्फ कार्यक्रम सभापति प्रसाइँ , संविधान सभा सदस्य समेत रहेका पार्टी नेता विश्वदिप लिङदेन र वडा सभापतिहरु रहेका थिए भने पार्टीका प्रदेश समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, जिल्ला तहका पदाधिकारी, सदस्यहरु र क्षेत्रीय समितिका पदाधिकारी सदस्यहरु मञ्चबाट तल सहभागीहरुको दिर्घामा बसेका थिए । पार्टीका नगर उपसभापति युवराज खनाल (सागर)ले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन नगर सचिव दिपेश दाहालले गरेका थिए ।कार्यक्रममा पश्चीम नेपालमा भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा मौनधारण गरिएको थियो ।
यो कार्यक्रम फरक शैलीमा व्यवस्थापन गर्नुपर्ने परिस्थितीको सिर्जना हुनुका दुई कारण थिए । पहिलो भुकम्पमा ज्यान गुमाएकाहरुको शोकमा रहेका कारण पार्टी सर्कुलर अनुसार शुभकामना आदनप्रदान गर्न नपाइने र अर्को कारण थियो पार्टीको महासमिति सदस्य चुन्ने निर्वाचनको संघार ।
२२ र २३ कार्तिकमा झापामा हुने महासमिति सदस्यको निर्वाचनमा झापाको यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि रहेका प्राय सबै नेताहरु उम्मेदवारका रुपमा छन ।
यो कार्यक्रममा महासमिति सदस्यको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुले सहभागीहरुलाई अभिवादन गरेर आफनो परिचय र आफूले महासमिति सदस्य पदमा दिन चाहेको उम्मेदवारीको बिषयमा जानकारी गराउने मौका दिइएको थियो ।
कांग्रेस भित्र १४ औं महाधिवेशनका क्रममा हुनुपर्ने महासमिति सदस्यको निर्वाचन गत बर्ष स्थगित भएको थियो ।
पार्टीले यही मसिंरमा महासमिति बैठक बोलाएका कारण त्यसअघिनै महासमिति सदस्य चुन्नैपर्ने बाध्यताका कारण अहिले झापामा कांग्रेस भित्र महासमिति सदस्यको निर्वाचनको माहौल शुरु भइसकेको छ । आजनै गौरीगञ्जमा पनि सोही प्रकृतिको कार्यकर्ता भेला सम्पन्न भएको छ ।
पार्टीका गाउँ नगर समिति र कतिपय वडा समितिहरुले पनि निर्वाचन लक्षित भेटघाटका कार्यक्रमहरु राखिरहेका कांग्रेस झापा क्षेत्र नं ५ का सचिव धर्मानन्द भट्टराईले बताए ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले यसक्षेत्रबाट चुनिने महासमिति सदस्यहरुको निर्वाचन सके सम्म सर्वसम्मत बनाउने प्रयास स्वरुप सोमबार भोली बिहान ८ बजे पार्टी कार्यालयमा आकांक्षी नेताहरु, पार्टीका विभिन्न तहका सभापतिहरु र निर्वाचन समितिको बैठक बोलाइएको जानकारी दिए ।