दमक/ झापा, कमल –६ का ३६ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याए सम्म उनको शव नबुझ्ने परिवारले अडान लिदैं स्वतस्फूर्त आन्दोलित समुह सडकमा उत्रिएको छ ।
दमक बहुमुखी क्याम्पसका पूर्व बिद्यार्थी समेत रहेका कार्कीलाई न्याय दिलाउन भन्दै बिद्यार्थी र उनका सहपाठी पूर्व बिद्यार्थी एवं शुभचिन्तकहरुले मंगलबार अपरान्ह दमकको क्याम्पसमोडमा झण्डै आधा घण्टा पूर्वपश्चिम राजमार्गनै अवरुद्ध गरेका छन ।
उनीहरुले कार्कीको मृत्यु अघि पछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धान अघि बढाउन र मृतकलाई न्याय दिलाउन माग गरेका छन ।
त्यसअघि मंगलबार बिहाननै मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि भएको अन्यायका बिषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभुती हुन नसकेको र मृत्युसम्म पुरयाएको आरोप लगाए ।
उनीहरुले कार्कीमाथी उनकी पत्नी चाहना, ससुरा पुण्यप्रसाद पोखरेल र वडाध्यक्ष नरेन्द्र भटट्राईले समेत कुटपिट गरेको प्रमाण आफूहरुसँग सुरक्षित रहेको पनि जिकिर गरे ।
वडाअध्यक्ष नरेन्द्र भटटराईसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाअध्यक्षको नाम हटाएर दुई जना विरुद्ध मात्र प्रहरीले कानुनी प्रकृया शुरु गर्नु अर्को आपत्तिको बिषय भएको उल्लेख गरे ।
मृत्यु प्रकरणका दोषीहरुलाई उन्मुक्ति दिलाउने षडयन्त्र भइरहेको पनि उनीहरुको आरोप छ । कार्की आइतवार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए ।
घटनापछि उनका ससुरा, पत्नी र वडाध्यक्ष भटट्राई फरार हुनु शंकास्पद रहेको परिवारको बुझाई छ । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
दशैंको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए ।
त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । दशै विदामा घरआएका कार्कीमाथि श्रीमती,वडाअध्यक्ष भटटराईसहितले कुटपिट गरेको भन्दै दशैं टिका अर्थात ७ कार्तिकमा इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए ।
सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भनेपनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमयी मृत्युभएको हो । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दैआएका थिए ।
प्रहरी भन्छ–अनुसन्धानमा कमी हुँदैन
इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले कार्कीले सो घटनाका बिषयमा आवश्यक अनुसन्धानमा कुनै कमी कम्जोरी नहुने स्पष्ट पारेका छन । उनले किटानी जाहेरीका आधारमा म्याद थपको आदेश लिएर दुई जनामाथी अनुसन्धान भइरहेको छ , वडाध्यक्षलाई पनि खोजीरहेका छौं । उहाँ (वडाध्यक्ष)ले कार्यवहाक अरुलाई दिएको पाइएको छ । कार्यालय , घर सबैतिर खोजीभइरहेको छ तर भेटन सकिएको छैन । हाम्रो तर्फबाट घटनामा सुक्ष्म अनुसन्धान हुन्छ । आवश्यक कारवाही अघि बढिसकेको छ ।