दमक/ स्वास्थ्य चेतना अभिवृद्धिसंगै महिलाहरु आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन स्वास्थ्य शिविर सम्म उत्साहजनक रुपमा सहभागी हुन थालेका छन् । केहि बर्ष अघि सम्म महिलाहरु विशेष गरि पाठेघर तथा पाठेघरको मुखको परिक्षणका लागि खुलेर स्वास्थ्य संस्था सम्म पुग्दैनन थिए ।
तर पछिल्लो समयमा महिलाहरुमा यौन तथा अन्य स्वास्थ्य समस्या बढेको र स्वास्थ्य सम्बन्धि सचेतना समेत बढेका कारण खुलेर स्वास्थ्य संस्था तथा परामर्श केन्द्रहरुमा पुग्न थालेका हुन् ।
दमकमा महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले बिहिबारदेखि शुरु गरेको दुई दिने महिला स्वास्थ्य शिविरमा पहिलो दिननै झण्डै ५ सय जनाले सहभागिता जनाएका छन् । ति मध्ये २ सय ३ जनाले पाठेघरको मुखको क्यान्सर परिक्षण गराएका नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य सहायक कुवेर भट्टराईले जानकारी दिनु भयो ।

त्यसैगरी आङखस्ने समस्याको लागि रोकथाम उपचार मानिने पाठेघरको मुखमा रिङ प्रेसरी राख्ने सेवा समेत १५ जनाले लिएका छन् । त्यसैगरी कतिपय समस्या भएका विरामीलाई आवश्यकता अनुसार शल्यक्रियाको सिफारिस समेत गरिएको छ । शिविरमा मेडकल ल्यावरोटरी एशोसिएसनको समेत प्राविधिक सहयोग रहेको जनाइएको छ ।

उहाँका अनुसार शिविरमा स्त्री रोग विशेषज्ञ डा. मनोज पोखरेल नेतृत्वको १३ जनाको स्वास्थ्य तथा प्राविधिक कर्मचारीहरु खटिएका छन् ।
पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श तथा शल्यक्रिया, स्तन परिक्षण तथा आफ्नो स्तन आफैं परिक्षण गर्न सिकाउने बारे जानकारीमूलक प्रशिक्षणसहितको शिविर दमकको रेडक्रस भवनमा सञ्चालित छ । नगरपालिकाले सामुदायिक सेवा केन्द्र भक्तपुरको सहयोगमा सो शिविर सञ्चालन गरेको हो ।

शिविरको प्रदेश सभा सदस्य अर्जुन राईले उद्घाटन गर्नुभएको थियो । दमक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको शिविर उद्घाटनमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना र स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले शिविरको औचित्यबारे प्रष्ट्याएका थिए ।

Facebook Comments Box