दमक/ दमकमा बर्षेनी दशैं, तिहार र छठ पर्वको अवसर पारेर दमक जेसीजले गर्दै आएको सप्तमी साँझ कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिइएको छ ।
दमकस्थित राजनीतिक दल, संघ संस्था, जनप्रतिनिधिहरु लगायत अगुवा नागरिकहरुलाई एकै ठाउँमा उभ्याएर गर्दै आएको शुभकामना आदनप्रदानसहितको सप्तमी साँझलाई यो बर्ष पनि निरन्तरता दिइएको हो ।
दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको सप्तमी साँझमा दमक जेसीजका पूर्व अध्यक्षहरु, जेसीज सदस्यहरु, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधि र विभिन्न वडाका जनप्रतिनिधिहरुसँगै आसपास क्षेत्रका जेसीज शाखाहरुबाट समेत प्रतिनिधिहरु सहभागी भएका थिए ।
दमक जेसीजका अध्यक्ष मुकेशकुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मेयर थापाले युवाहरुलाई गोलबद्ध बनाएको जेसीजले राष्ट्र , राष्ट्रियता, आम नागरिकका जनजिविकाका सवालहरुमा पनि यथार्थ आवाज बुलन्द गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने सुझाए ।
आफनो मन्तव्यका क्रममा मेयर थापाले अघिल्ला वक्ताहरु आफनो भनाई राख्न मात्रै कार्यक्रममा देखापरेको टिप्पणी गर्दै औपचारिक कार्यक्रमका वक्ताहरुको त्यस्तो व्यवहारले सभ्यता र असल संस्कारको पहिचान दिन नसकेको भनि गुनासो गरे ।
दमक नगरमा आफनो नेतृत्व असफल बनाउन कार्यपालिका र वडाका जनप्रतिनिधिहरुलेनै नियतवश असहयोग गरिरहेको गुनासो गरेका मेयर थापाले दुर्गा प्रसाइँको नाम लिएर बोल्न पाउने नागरिकको संविधानप्रदत्त अधिकार प्रयोग गर्दा उनीमाथी भएको हातपात र दुव्र्यवहारको घटनाका बिषयमा सचेत युवाहरु बोल्न नसकेको भनि आलोचना गरे ।
युवाहरु अमुक पार्टीको कार्यकर्ता बनेका कारण युवाहरुकै अधिकार कुण्ठित बनिरहेको मेयर थापाको टिप्पणी थियो ।
आफनो मन्तव्यका क्रममा मेयर थापाले नगरपालिकाले ल्याएको घरदैलो स्वास्थ्य सेवा, विपन्न पहिचान गरी खाद्यन्न राहत दिने, सुकुम्बासीलाई जग्गा धनीपूर्जा दिलाउने जस्ता लोकप्रिय कामहरुको कार्यान्वयमा धेरै जसो वडाका जनप्रतिनिधिहरुले असहयोग गरेको खुलासा गरे । उनले भने– हामीले ९० बर्षमाथिका नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम ल्यायौं, वडाहरुले नाम विवरण दिने र समन्वय गर्ने कुरामा असहयोग गरे । नगर प्रमुख थापाले औद्योगिक करिडोर स्थापनाका नाममा बिना कुनै पूर्व तयारी र योजनाबिनै सस्तो जग्गाहरुलाई महंगो दरमा मुआब्जा दिलाएर सिमित भुमाफियाहरुले कमाउने धन्दा मच्चाएको पुष्टि भएको उल्लेख गरे । यो राज्य लुटने योजना देखियो– मेयर थापाले भने – म उद्योग मन्त्रालयमा पनि पुगें , सबै कुरा बुझें, त्यो औद्योगिक करिडोरका नाममा यहाँँ ब्रहमलुट मच्चाइएको मात्रै रहेछ यसको फेद टुप्पो केही भेटिएन ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुमा बढदो निराशालाई सम्बोधन गर्ने जिम्मेवारी पनि युवाहरुकै भएको बताए । राज्यको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाहरुको भुमिका महत्वपूर्ण हुने बताउँदै देश र आफना सन्ततीको भविष्यलाई सम्झिएर अहिलेको युवा नेतृत्व इमान्दार बन्नु पर्ने बेला भएको बताए ।
४२ प्रतिशत युवा उमेर समुहको जनसंख्या भएको मुलुकको भविष्य आर्थिक, राजनीतिक, सामाजिक रुपमा नकारात्मक बन्नु कसैको पनि हितमा नभएको बताउँदै युवाहरुले सकारात्मक सोचको बिकास गराउन भुमिका खेल्नुपर्ने औंल्याए ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी, नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाइँ, नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष समेत रहेका दमक ८ का वडाध्यक्ष दिपेश दाहाल, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष कुलबहादुर बस्नेत (रवि), राप्रपाका नगर अध्यक्ष हेम सुवेदी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, दमक जेसीजका पूर्व अध्यक्ष सन्तोष अधिकारी लगायतले पनि शुभकामना मन्तव्य राखेका दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष सहदेव भट्टराईले जानकारी दिए ।
कार्यक्रम संयोजक निरज आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव रामचन्द्र अधिकारी (आरसी)ले गरेका थिए ।