दमक/ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाड पर्व सुरक्षा कार्ययोजना २०८० को कार्यान्वयन गर्न शुरु गरेको छ । कार्ययोजना अनुसार प्रदेशमा थप प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।
चाड पर्व सुरक्षा कार्य योजना अनुसार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेशमा ७ हजार ५ सय १५ जना प्रहरी जनशक्ति परिचालन गरेको छ ।
सुरक्षा व्यवस्थालाई मजवुद बनाई आम नागरिकमा सुरक्षित र भयरहित तवरबाट चाड पर्व हर्ष र उल्लासका साथ मनाउने वातावरण सृजना गर्न, बैङ्क तथा बितिय संघ संस्थाहरुमा हुने कारोवार सुरक्षित बनाउन, बिभिन्न गन्तब्य सम्म जाने यत्रुहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन र कुनै किसिमको अप्रिय घटना, दुर्घटना हुन नदिन चाड पर्व सुरक्षा योजना तयार गरी योजनाबद्धरुपमा प्रहरी परिचालन गरिएको प्रहरीको दाबी छ ।
चाड पर्वको समयमा हुन सक्ने अवांक्षीत र अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण र बिगतको घटनालाई विश्लेषण गरी चाडपर्व लक्षित सुरक्षा योजना अनुसार प्रदेशस्तरिय कमाण्ड पोष्ट स्थापना गरिएको छ । प्रदेश अन्तर्गतका १४ वटै जिल्लाहरुमा जिल्ला कमाण्ड पोष्ट स्थापना गरी प्रहरी परिचालन गरिएको छ ।
यसै गरी प्रदेश रिजर्भ टोली ४ वटा र जिल्ला रिजर्भ टोली २६ वटा र जिल्लाहरुमा १७ वटा स्ट्राईकिङ टोली तयार गरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाहरुमा शान्ति सुरक्षाको निम्ति बिशेष चेकिङ, नियमित चेकिङ, रात्री कालिन चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ, मोवायल गस्ती, पैदल गस्ती, मोटरसाईकल गस्ती, साईकल गस्ती तथा बिभिन्न स्थानमा पिकेट ड्युटी खटाई सुरक्षा व्यवस्था मजवुद बनाईएको प्रहरीको दाबी छ ।
बजार एरिया,बैङक, बितिय संघ संस्था एकान्त ठाउँ, मानिसको बढी भिडभाड हुने स्थानहरुमा शान्ति सुरक्षाको निम्ति पैदल तथा मोवायल गस्ती र सादा पोशाकमा परिचालन गरिएको छ भने चोक बजार लगायत बिभिन्न स्थानमा विशेष प्रहरीको निगरानी समेत बढाईएको छ ।
अन्तराष्ट्रिय सिमानाका तथा अन्तर जिल्लाका नाकाहरुमा अवैध सामान तथा बिष्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा संकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरिएको भने शंकास्पद ब्यक्ति तथा सवारी साधनहरुमा कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाईएको छ । यात्रु सहायता कक्षको स्थापना गरी संचालनमा ल्याईनुको साथै राजमार्गहरुमा २४ सै घण्टा संयुक्तरुपमा ट्राफिक प्रहरी सहितको बिशेष चेकिङ भइरहेको जनाइएको छ ।
सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, धार्मिकस्थल, उद्योग कलकारखानाहरुको सुरक्षाको निम्ति आवश्यक पैदल तथा मोवाइल गस्ती सहित थप प्रहरी परिचलान गरिएको छ भने पहाडी भेगहरुमा शान्ति सुरक्षाको निम्ति लामो तथा छोटो ग्रामिण गस्ति, बजार गस्ती, खवर संकलन समेत गरी सुरक्षा व्यवस्था मजवुद बनाईएको छ ।