दमक/ श्रवण शक्ति कम भएका दमक नगरबासीलाई स्थानीय सरकारले दशैंको अवसर पारेर श्रवणयन्त्र प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार औपचारिक कार्यक्रम गरी चिकित्सकद्धारा सुस्त श्रवणको समस्या प्रमाणित गरिएका ५७ जनालाई आधुनिक प्रविधियुक्त उपकरण (श्रवणयन्त्र) प्रदान गरेको हो ।
सो अवसरमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले नगरबासीहरुलाई गरिएको सार्वजनिक सूचनाका आधारमा चिकित्सकहरुद्धारा स्वास्थ्य परिक्षण पश्चात कमजोर श्रवणशक्ति पहिचान गरिएका नागरिकहरुलाई सो सामग्री प्रदान गरिएको बताइन ।
उनले नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले थोरै भएपनि नागरिकहरुको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गरिन ।
नगरपालिकाकी सामाजिक बिकास समिति संयोजक शारदा सापकोटा भट्टराईले भौतिक पूर्वाधारको बिकाससँगै सामाजिक समस्याहरुको पहिचान गर्दै समस्या समाधानका लागि स्थानीय सरकारले यस किसिमको सहयोगको कार्यक्रम ल्याएको उल्लेख गरिन । सो अवसरमा धरानस्थित बीपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा. बिनय कुमार झाले कानको परिक्षण गरेका थिए ।
कार्यक्रममा नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख सरिता भण्डारी, सामाजिक बिकास शाखा अधिकृत केशवराज प्रसाइँ लगायतको उपस्थिती रहेको थियो ।