काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका हुन् ।

अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका अरु प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । केसीले १ हजार ३७८, शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको घोषणा गरिएको छ ।

महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताए । मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने, ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठको माग छ ।

अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाई छ ।

काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो ।

Facebook Comments Box