दमक/ आइतबारदेखि दमकमा हुने दोस्रो रोयल महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक रोयल स्पोटिङ क्लबले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको शनिबार हिमावी खेलमैदान परिसरमा पत्रकार सम्मेलन गरी जनाएको छ ।
‘मेरो गोल महिला हिंसाविरुद्ध बोल’ भन्ने नारासहित हुने प्रतियोगिता आइतबारदेखि कार्तिक ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी आयोजकसहित विभिन्न ८ वटा टिमले सहभागिता जनाउनेछन । सहभागी सबै टिमले राष्ट्रिय खेलाडीहरुलाई समेत मैदानमा उतार्ने भएका कारण निकै रोचक प्रतियोगिता बन्ने खेल संयोजक राजु खड्काले जानकारी दिनु भयो ।।
प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सिएफसी काठमाडौं, धरान महिला फुटबल क्लब सुनसरी, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका, बिवाइसी इलाम, बसाह फुटबल क्लब उदयपुर र आयोजकले सहभागिता जनाउने छन् ।
प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउने आयोजक रोयल स्पोटिङ क्लबका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिनु भयो ।
प्रतियोगिताका विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने र करिब पाँच लाख ७५ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
महिला फुटबल प्रतियोगिताले महिला खेलाडीहरुलाई प्रोत्साहन मिल्नुका साथै महिलाहरु पनि हरेक क्षेत्रमा सक्षम छन भन्ने उदाहरण पाउन सकिने आयोजकको विश्वास छ । सो क्लबले यसअघि २०७८ मा पहिलो महिला फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

 

Facebook Comments Box