दमक/ झण्डै तीन महिना अघिदेखि कोशी प्रदेश सरकार अस्थिर छ ।
कुनै पनि दलको एकल बहुमत नहुँदा र राष्ट्रिय राजनीतिमा २०७९ को चुनाव अघिदेखि रहेको दलहरुबीचको समिकरण सरकारको सत्तारुढ गठबन्धन र प्रतिपक्षी मोर्चा एमाले – राप्रपा आफनो आफनो अडानमा कायम रहँदा गणीतिय हिसाबले कोशी प्रदेश सभाले दिगो सरकार बनाउन सकिरहेको छैन ।
कोशी प्रदेशमा सरकार गठनको अन्तिम संवैधानिक विकल्पका रुपमा रहेको दललाइ नभई सांसदलाई बहुमत जुटाउन प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको आव्हानपछि पनि राजनीतिक निकास निस्कने संकेत नदेखिएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले बहुमत र्पुयाउन सक्ने सांसदले भोलि शुक्रवारसम्म मुख्यमन्त्रीमा दाबी गर्न सक्ने गरी समय दिएका त छन तर आज बिहीवारसम्म कुनै पनि सांसदले बहुमत र्पुयाउन सकेका छैनन् ।
संघीय सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोले प्रदेश प्रमुख खापुङसमक्ष दाबी पेस गरे । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेता समेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल भएका थिए ।
आङ्बोले कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपनि नेपाली कांग्रेसका सांसद केदार कार्कीले कांग्रेसका आठ जना र एमालेका ४० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा अर्को दाबी पेस गरेका छन । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दुई पटक सम्म विशवासका दिनका लागि प्रदेश सभामा गरेको आव्हानलाई वेवास्ता गर्दै सर्वोच्च अदालत सम्म पुगेको एमालेले कांग्रेसकै अर्का सांसद कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै बहुमत जुटाउन आफना सांसदहरुलाई हस्ताक्षरनै गराएको छ । एमालेबाट प्रदेश सभा सदस्य बन्दै उपसभामुख बनेकी सृजना दनुवारको समेत हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्रीमा ४८ सदस्य पुरयाउँदै दाबी पेश गरेका हुन ।
यो प्रकृयाको गठबन्धनले भने विरोध गरेको छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको सम्भावना नरहेको अवस्थामा कांग्रेसलाई समर्थन गर्ने बताएको छ ।
कोशीमा सरकार गठनका लागि यो नै अन्तिम विकल्प भएकाले दलहरूले आफ्ना सांसदलाई ह्विपु लगाउन भने पाउने छैनन् । बहुमत र्पुयाउन सक्ने सांसदले सरकार गठन गर्न सक्नेछन् । माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ ।
यसका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेका छन । गठबन्धनलाई सरकार गठनमा सघाएमा कोशी प्रदेशको सभामुख राप्रपालाई दिन पनि दलहरू सहमत भएका छन् । तर राप्रपाले यसबारे औपचारिक निर्णय नगरी बसेको छ ।
एमालेका तर्फबाट मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले भोलि शुक्रवार साँझसम्म मुख्यमन्त्रीको नाम सिफारिस गर्न समय दिएका छन ।
यस पटक पनि बहुमत नजुटेमा प्रदेशसभा नै विघटन हुन्छ । बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । एमालेका ४० जना सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ जना सांसद छन् ।