दमक/ दमकस्थित हिमाविको खेलमैदानमा यही २८ असोजदेखि हुने प्रदेश आमन्त्रण नकआउट दोश्रो रोयल महिला फुटबल प्रतियोगिता सञ्चालनका लागि विभिन्न विभागीय समितिहरुले तिब्रतासाथ तयारी अगाडी बढाएका छन ।
रोयल स्पोर्टिङ क्लबको आयोजनामा हुने सो प्रतियोगिताको मूल आयोजक समितिले विभिन्न जिम्मेवारीहरु बाँडफाँडसहित तयारी थालेको हो ।

क्लबले राजु खडकाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिसकेको छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न समितिहरुले आआफनो जिम्मेवारी तदारुकतासाथ पुरा गरिरहेका हुन ।

प्रतियोगिताका लागि रामचन्द्र अधिकारी (आरसी)को संयोजकत्वमा प्रचारप्रसार समिति, इजु तामाङको संयोजकत्वमा टिम व्यवस्थापन समिति, सन्दिप खतिवडाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र ललित बिकको संयोजकत्वमा रहेको खेल मैदान व्यवस्थापन समिति गठन भइ आवश्यक तयारी अघि बढेको मूल आयोजक समितिका संयोजक खडकाले जानकारी दिए । सैलेश श्रेष्ठको संयोजकत्वमा रहेको सल्लाहकार समितिले आवश्यक सरसल्लाह प्रदान गरिरहेको छ। आयोजकले खेलक्षेत्रमा महिलाहरुको आकर्षण र व्यवसायिक खेल बिकासका लागि यो प्रतियोगिताले महत्वपूर्ण सन्देश दिने जनाउँदै आवश्यक सहयोगका लागि आम खेलप्रेमी, शुभचिन्तकहरुमा अपिल गरेको छ ।

आयोजक समितिले धमाधम खेलमैदान सम्याउने, प्याराफिट निर्माण गर्ने लगायतका प्राविधिक तयारीहरु गरिरहेको जनाएको छ । टिम व्यवस्थापन समितिका संयोजक इजु तामाङले निस्वार्थ भावनाले जुटन सके उच्चस्तरको खेल पनि न्यूनतम खर्चमा गर्न सकिन्छ भन्ने सन्देश पनि यो प्रतियोगिताका माध्यमबाट दिन खोजिएको बताए ।

कार्तिक ५ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सीएफसी काठमाडौं, धरान महिला फुटबल क्लब, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका भोजपुर, बसाह फुटबल क्लब उदयपुर, विवाइसी इलाम र आयोजक टिमले भाग लिने निश्चीत भइ खेल तालिका समेत सार्वजनिक भइसकेको टिम व्यवस्थापन संयोजक तामाङले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार पुरस्कारसहित ट्रफी मेडल प्राप्त गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने जनाइएको छ । आयोजकका अनुसार सो प्रतियोगितामा उल्लेखिय रुपमा राष्ट्रिय टिमका महिला खेलाडीहरु मैदानमा उत्रिनेछन ।

खेलाडीहरुको प्रतिभा प्रोत्साहनका लागि आयोजकले यो प्रतियोगिताका दर्शकहरुलाई प्रवेश निशुल्क गर्ने जनाइएको छ । दैनिक ७ सयदेखि एक हजारसम्म दर्शक अटाउन सक्ने गरी आवश्यक बन्दोबस्ती मिलाउने काम भइरहेको आयोजकले जनाएको छ ।

Facebook Comments Box