इजरायलमा भएको हमास आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका छन्। शनिबार बिहानैबाट भएको आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यान गुमाएको इजरायलस्थित दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले नेपालखबरलाई बताए।
सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए। किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो।
सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन्।
कञ्चनपुर, भीमदत्त –३ का विपीन जोशी भने सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ।
गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।
प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण त्यहाँको अवस्था भयावह बन्दै गएको छ।