दमक/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् ।
शनिबार बोलाइएको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै कार्कीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुख समक्ष राजीनामा दिएको बताए । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन ।
उनले कोशी प्रदेशको राजनीतिक स्थायीत्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु नै विकल्प भएको दाबी गरे ।
प्रदेशसभाको दोस्रो कार्यकालमा दुईपटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे ।
कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताउँदै दलहरुले चालेको कदम ठिक भएको वा बेठिक भएको विषयमा सोच्नु पर्नेमा उनले जोड दिए । दलहरुबीचको सहमतिबाट मात्रै प्रदेशको समस्या समाधान गर्न सकिने बताउँदै उनले आफ्नो कुरालाई मात्रै जोड दिने हो भने मध्यावधि कसैले टार्न नसक्ने बताए । प्रदेश संरचना खारेजको माग भइरहेको विषयलाई मध्यनजर गर्दै आगामी कदम चाल्नुपर्ने उनको जोड थियो । मध्यावधि निर्वाचनको पक्षमा कुनै पनि माहोल नभएको भन्दै उनले मध्यावधि रोक्न आफूहरु सहयोग गर्न तयार भएको बताए ।