दमक/ गौरीगञ्ज गाउँपालिका वडा नं १ ले महिलाहरुलाई आत्मनिर्भर बनाउन गरीबि निवारण लघुवित्त कार्यक्रम अन्तर्गत सौन्दर्यकला सम्बन्धिको एडभान्स कोर्ष तालिम सञ्चालन गरेको छ ।
वडामा रहेका सीपबिहीन महिलालाई सीप सिकाए आत्मनिर्भर बनाउने उद्धेश्यले एक महिने एडभान्स व्युटिसियन तालिम शुरु गरेको हो ।
गरिबी निवारण लघु उद्यम विकास कार्यक्रममा २० जना महिलाहरुलाई सो तालिम प्रदान गरिने वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।
तालिम उदघाटनका अवसरमा वडाध्यक्ष राजवंशीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भरता र व्यवसायिकताको बाटोमा लाग्न सुझाव दिए ।
राजवंशीले वडा कार्यालयले धेरै युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरेर बेरोजगार जनशक्तिलाई रोजगारमुखी उत्पादनमा जोड्ने नीति लिएको बताए । उद्यम विकास शाखा गौरीगञ्जको प्राविधिक सहयोग र गौरीगंज गाउँपालिका वडा नं. १ को आयोजनामा भइरहेको सो सीपमूलक तालिमको उदघाटन कार्यक्रममा वडा सदस्यहरु कृष्ण महतो, रेखा राजवंशी, दुर्गा परियार, राजभक्त सुनुवार, वडा सचिव सुमन रेग्मी लगायतको सहभागिता थियो । वडा कार्यालयले साबुन, हर्पिक बनाउने तालिम, सिलाई कटाई तालिम, आधारभूत उपचार स्वास्थ्य तालिम, मकैंको खोष्टाबाट फुल बनाउने तालिम, आधारभुत व्युटिसियन तालिम पनि सञ्चालन गरिरहेको छ ।