दमक/ नेकपा एमाले कोशी प्रदेश कमिटीका नव निर्वाचित अध्यक्षसहित, पदाधिकारी र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विराटनगरस्थित होटल कन्चनजंघामा आज बुधबार पाँच पदाधिकारी र सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।

नेकपा एमालेका सचिब तथा कोशी प्रदेशका इन्चार्ज रघुबिर माहासेठले शपथ गराएका थिए । एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र बिनोद ढकालबीच प्रतिस्पर्धा भएको थियो ।
ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धि ढकालले ४३० मत ल्याए । उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित भएका छन् ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर निर्वाचित बन्दा उनका प्रतिपर्धि शैलेश लामाले ३८१ मत ल्याए ।
उपसचिवमा झापाकी जलवर्षा राजवंशीले ६२८ र खोटाङका देवान राईले ६६१ मत ल्याएर विजयी भएका छन् ।
प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरु मध्ये ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरु भने मतदानमा अनुपस्थित भएका थिए ।

Facebook Comments Box