दमक/  दमकमा चाडपर्व लक्षित सुरक्षा तथा बजार अवस्थाका बिषयमा सरोकारवालाहरुबीच सोमबार छलफल भएको छ ।

दमक उद्योग वाणिज्य संघको आयोजनामा संघको कार्यालयमा भएको छलफलका सहभागीहरुले बजारमा उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यन्न तथा बिषादीयुक्त केराको बिक्री वितरणमा रोक लगाइनुपर्ने माग गरे । केरा, स्याउ लगायतका फलफूल आइटमको भण्डारण उपयुक्त र स्वस्थकर रुपमा हुन नसक्दा स्वास्थ्यमा प्रतिकुल हुन असर पर्ने खालका बिषादीयुक्त फलफूल खान उपभोक्ताहरु बाध्य हुनु परिरहेको पनि सहभागीहरुले गुनासो गरेका छन ।
छलफलमा मगन्तेका समस्यादेखि रात्रीकालिन बजारका बिषयमा समेत बहस भएको छ ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको अध्यक्षतामा भएको छलफलमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले स्थानीय सरकार उपभोक्ताको अधिकारको संरक्षणका लागि लागिपरेको बताउँदै आकस्मिक बजार अनुगमनलाई साथ दिन व्यवसायीहरुमाझ आग्रह गरिन । उनले नगरपालिकाले बजारमा राजश्व चुहावट र उपभोक्ता हित विपरितका क्रियाकलाप रोक्न आवश्यक संयन्त्र परिचलान गरिएको पनि जनाइन ।

त्यसैगरी इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश्वर तिम्सिनाले स्थानीय सरकार आफैं बजार अनुगमनका लागि अधिकार सम्पन्न रहेको बताउँदै प्रशासनिक निकायबाट आवश्यक सुरक्षा र सहयोगका लागि कुनै कमि हुन नदिने उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले बजार सुरक्षाका लागि प्रहरील गस्ती पेट्रोलिङ बढाएको बताउँदै कसैले पनि असुरक्षित महसुस गरेको अवस्थामा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरे । नागरिकहरुको सुरक्षाप्रति हामी प्रतिबद्ध छौं–डिएसपी लामाले भने । उनले समाजमा बढदो लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि समुदायसँग सहकार्य गर्न नेपाल प्रहरी सदैव तयार रहेको बताए ।

दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले बजारमा व्याप्त विकृतीहरुलाई रोक्नु ठुलो चुनौतीका रुपमा रहेको बताउँदै प्रहरी प्रशासनबाट पर्याप्त सहयोग र आम नागरिकहरुमा चेतनाको बिकास गर्न नसकेसम्म सहज अवस्था नआउने बताए ।

दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने र ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले अपराध न्युनिकरणका लागि सुरक्षा संयन्त्रको परिचालन प्रभावकारी रुपमा गरिनु आवश्यक भएको बताए ।
सहभागीहरुले पर्वको समयमा हुन सक्ने असुरक्षालाई मध्यनजर गर्दै आम नागरिकहरु आफैं पनि सचेत हुनुपर्नेमा सामुहिक जोड दिएका छन । छलफलमा संघका वरिष्ठ उपाध्यक्ष राजु खडका, प्रथम उपाध्यक्ष राजकुमार योङया, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, लेखा संयोजक नेत्र चम्लागाइँ, सुस्मा निरौला, होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य भविन्द्र न्यौपाने (भुपेन्द्र), उवासंघका कार्यसमिति सदस्यहरु हेमसिंह अधिकारी, तरकारी तथा फलफुल व्यवसायी प्रतिनिधि रविन्द्र दाहाल, पत्रकार महासंघ प्रदेश समिति सदस्य समेत रहेका व्यवसायी बिष्णु सुब्बा लगायतले आआफनो धारणासहित सुझाव राखेका थिए ।

Facebook Comments Box