विराटनगर/ नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा पूर्व सांसद एवं नेता घनश्याम खतिवडा विजयी भएका छन् ।
आज बिहान सकिएको मतगणनामा प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याएर विजयी भएका छन भने विनोद प्रसाद ढकालले ४३० मत ल्याएका छन । ३५ मत बदर भएको जनाइएको छ । अध्यक्षमा निर्वाचित खतिवडा प्यानलमै परेका राजकुमार भण्डारी प्रदेश सचिवमा , जलवर्षा राजवंशी र देवान राई उपसचिवमा विजयी भएका छन । सो प्यानल एमालेभित्र पार्टी अध्यक्ष केपी ओलीको आधिकारिक प्यानलका रुपमा अधिवेशनमा देखिएको थियो ।
एमालेमा ओली इतर समुह पनि सक्रिय रहेकै कारण ओलीको निर्देशन विपरीत प्रतिस्पर्धी समुह चुनावमै उभिएको थियो ।
अध्यक्षका लागि प्रतिस्पर्धा गरेका खतिवडा र ढकाल पार्टीको चुनावमा दोश्रो पटक आम्ने साम्ने भएका हुन । यसअघि उनीहरु पार्टीको पाँचौ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । सो अधिवेशनमा ढकालले खतिवडालाई हराएका थिए ।
मोरङको साविक लेटाङ गाविसको अध्यक्ष भएका खतिवडा २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । २०७९ को निर्वाचनमा भने उनी कांग्रेसका डिगबहादुर लिम्बूसँगै पराजित भएका थिए ।
एमालेको कोशी प्रदेश अधिवेशनमा कूल ९९७ जना प्रतिनिधि थिए । उनीहरु मध्ये ९७७ जनाले मत हालेका थिए ।