दमक/दशैंको सन्मुखमा खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको मुल्य ह्वात्तै बढेपछि सर्वसाधारण उपभोक्ताहरु मारमा परेका छन ।
शनिबार गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ ।
ग्यास प्रतिसिलिण्डर २ हजार १ सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।
बढेको मूल्य अनुसार अब काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ तथा डिजल र मट्टीतेलको एक सय ७९ रूपैयाँ पर्नेछ । अरु ठाउँमा भाउ फरक फरक छ ।
खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिन्डर २ हजार एक सय १० रूपैयाँ पर्नेछ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित प्रणाली अनुसार नेपालमा पनि भाउ बढेको जनाएको छ । ग्यास र पेट्रोलियम पदार्थमा भाउ बढ्नु पहिले नै अरु दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।
डिजल र पेट्रोलको भाउ थप बढेपछि यात्रा र ढुवानी खर्च पनि बढ्ने भएकाले उपभोक्ताहरु झनै मारमा पर्ने देखिएको छ ।
बजारमा कृत्रिम अभाव र महँगीको मार बढिरहेका बेला सरकारले भने केही बोलेको छैन । बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव हटाउन सरकारले प्रयास नगरेको सर्वसाधारणको बुझाई छ ।
बजार अनुगमन भइरहे पनि मुल्यका बारेमा ध्यान दिइएको पाइँदैन । बजार अनुगमनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकेको उपभोक्ताले गुनासो गरेका छन् ।
दशैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि हुनु नागरिकको अपेक्षा विपरीत भएको दमकका उपभोक्ता अधिकारीवादी समेत रहेका नेपाल चलचित्र व्यवसायी संघका केन्द्रिय सदस्य चैतन्य बराल बताउँछन ।
बजारमा उपलब्ध खाना पकाउने ग्याँसको मुल्य एकैपटक ठुलो मात्रामा बढेका कारण व्यवसायीहरुले भण्डारण गरेको ग्याँस सिलिण्डरको तथ्याङक राखेर साविककै मुल्यमा किनबेच गर्ने व्यवस्था मिलाउनु पर्ने उपभोक्ताहरुको भनाई छ ।

Facebook Comments Box