दमक/ कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले असोज १७ गतेका लागि प्रदेशको चौथो अधिवेशन आह्वान गरेका हुन् । कोशी प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार सिफारिस भएपछि प्रदेश प्रमुखले अधिवेशन असोज १७ गते दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् । यसैबीच नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कोशी प्रदेशका प्रमुख सचेतक समेत रहेका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
कार्कीले असोज २० गतेसम्ममा विश्वासको मत दिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । कांग्रेसले दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफ्नै नेतृत्वका सरकार निर्माण गर्ने कांग्रेसको रणनीति छ ।
४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको भन्दै खेद प्रस्ताव समेत पारित गरेको छ ।

Facebook Comments Box