दमक/ दमक नगरपालिकाकी कार्यबहाक नगर प्रमुख रेगिना भट्टराई प्रसाइँ नेतृत्वको टिम सोमबार दमक बजारमा प्रतिबन्धित भारतीय माछा तथा खान अयोग्य बस्तुको विक्री वितरण रोक्न एक्सनमा उत्रिएको छ ।
इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश्वर तिम्सिना, इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की तथा सम्बन्धित बिषय विज्ञ कर्मचारीहरुसहित बजारमा निस्किएको टोलीले बजारबाट उपभोक्तामाझ पुग्नै लागेको ठुलो परिमाणमा भारतीय माछा तथा रंग मिसाएर अखाद्य बनाईएको स्थानीय माछा समेत बरामद गरेको हो ।
बरामद माछा मासु तथा सबै अखाद्य बस्तुहरु दमकको उत्तरी क्षेत्रमा रहेको फोहोरमैला व्यवस्थापनस्थलमा नष्ट गरिएको नगर प्रहरीका इञ्चार्ज रुद्र कार्कीले बताए ।
अनुगमनको क्रममा बजार अनुगमन समिति संयोजक समेत रहेकी कार्यवहाक नगर प्रमुख भट्टराईले स्थलगत रुपमानै माछाको अवस्था र होटल तथा खाजा घरहरुमा रहेका खानेकुराहरुको गुणस्तर जाँच गर्न सम्बनिधत कर्मचारीलाई निर्देशन गरेकी थिइन । सो क्रममा दमक ६ स्थित अम्बिका माछा फ्राई नामको साइन बोर्ड राखिएको ठाउँबाट ६ कार्टुन प्रतिबन्धित भारतीय माछा बरामद गरिएको छ ।
दमकमै नाम चलेको र अधिक उपभोक्ताहरुको भिड रहने गरेको सो माछा फ्राई जहिल्यै जतिसुकै मात्रामा पनि माछा उपलब्ध हुने माछा फ्राईका रुपमा चिनिन्छ । त्यहाँ पहिलानै पकाएर राखिएको कुहिएका माछा समेत फेला परेको थियो । त्यसैगरी होटलमा राखिएको डिप फ्रिजमा राखिएका सामान समेत बिग्रिएर दुर्गन्धित बनेको अवस्थामा भेटिएको थियो ।
दमक नगरपालिकाकी खाद्य निरिक्षक लक्ष्मी न्यौपानेका अनुसार दमककै सगुन माछा फ्राईमा स्थानीय जातकै स्वस्थ माछा पकाउँदै गरेको अवस्थामा भेटिएपनि ति माछामा खान अयोग्य रंग मिसावट गरेको पाइएकाले जफत गरि सचेत गराइएको छ ।
त्यस्तै दमक चोक हाइवे दक्षिणमा रहेको तरकारी बजार भित्रको माछा पसलबाट खान अयोग्या एक कार्टुन माछा बरामत गरिएको छ भने ठाउँको ठेला पसल तथा बसपार्क क्षेत्रका ठेला पसलहरुमा अखाद्य अमिलो, रंग मिसावट गरेका खानेकुरा लगायत बरामद गरिएको खाद्य निरिक्षक न्यौपानेले जानकारी दिइन ।
यसअघि बेलाबखत हुने गरेको बजार अनुगमन भन्दा यसपटक भएको बजार अनुगमन दमकमा फरक किसिमको पाइएको छ । अनुगमनका क्रममा नगर प्रहरी, जनपथ प्रहरी , दमक उद्योग वाणिज्य संघका पदाधिकारी एवं पत्रकारहरुसहितको टोली सहभागी थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले बजारमा स्वास्थ्यका दृष्टिकोणबाट धेरै अखाद्य बस्तुहरु समेत पाइएको बताए ।
कार्यवहाक नगर प्रमुख प्रसाइँले दमक बजारको अनुगमन चाडपर्व लक्षित अनुगमन नभएको बताउँदै यसलाई नगरपालिकाको आव्हानका रुपमा लिइदिन नगरबासीलाई आग्रह गरेकी छिन । यो अनुगमन केवल चाडपर्व लक्षित हो भन्ने गलत बुझाई कतिपय मानिसहरुको रहेको पाइयो त्यस्तो होइन , स्थानीय सरकार आम उपभोक्ताको हित र स्वास्थ्यमा बढदो समस्याप्रति संवेदनशील छ भन्ने सन्देश पनि दिन खोजेका हौं । यो एउटा आम नगरबासी उपभोक्ताहरुका लागि सार्वजनिक अपिल पनि हो । उपभोक्ता आफैं आफनो स्वास्थ्यप्रति सजग हुनुपर्छ ।
उपभोक्ता हित विपरीतका क्रियाकलाप विरुद्ध स्थानीय सरकार कडाइँका साथ उत्रिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए ।