दमक/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सबै जातजाति भाषाभाषीहरुको मागलाई सम्बोधन गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
कोशी प्रदेशको नामाकरणमा असहमति जनाउँदै पहिचानवादी समूहले आन्दोलन चलाइरहेको बेला आज झापाको दमक आइपुगेका अध्यक्ष विजुक्छेले सोभियत संघले जस्तै सबै भाषाहरुको लिपी बनाएर राष्टले संरक्षण गर्नुपर्ने बताएका हुन् ।
उनले सरकारले जिम्मेवार व्यवहार गर्न नसक्दा नागरिकहरु आन्दोलित हुनुपर्ने अवस्था हुँदै आएको उल्लेख गरे । विश्व इतिहासको चर्चा परिचर्चामा केन्द्रित भएका अध्यक्ष विजुक्छेले देशभक्त समाजवादी मोर्चाको अभियानमा केन्द्रित हुन नागरिकहरुलाई आव्हान गरे ।
आफूद्धारा लिखित ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद ’पुस्तक बारे आइतवार झापाको दमकमा आयोजित अन्तरक्रियामा सहभागी हुन प्रमुख वक्ताका रुपमा प्रस्तुत भएका अध्यक्ष विजुक्छेसँग सहभागीहरुले राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिक परिवेशका बिषयमा जिज्ञासाहरु समेत राखेका थिए ।
सो अवसरमा देशभक्त समाजवादी मोर्चाका अध्यक्ष एवं पूर्वमन्त्री गोपाल किराँतीले पूर्वमा चलिरहेको पहिचानको आन्दोलनप्रति समर्थन जनाउँदै यसलाई ठुला दल र सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गरे ।
सो पुस्तकमाथी डा. कमल तिगेला र नेमकिपाकी संघीय संसद सदस्य सिर्जना सैजु , राष्टिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, जयराम संयोकलगायतले पनि चर्चा गरेका थिए । उनीहरुले समसामयिक बिषयमा पनि धारणा राखेका थिए ।