दमक/ पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्टको बीर अस्पताल काठमाडौंमा उपचारका क्रममा बिहिबार राती करीब साढे १० बजे निधन भएको छोरा आकाशले जानकारी दिएका छन् ।
डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । उनी त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।
उनी मोर्चाबाट २०५३ सालमा फेरि नेपाली कांग्रेसमै फर्किएका थिए । २०५६ सालमा बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा उनी निर्वाचित भएका थिए । २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए । २०७० सालमा भने उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए ।
उनको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस निकट थियो । खेमराज पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा पटक–पटक जेलसमेत परेका थिए ।