दमक/ कोशी प्रदेशमा विश्वासको मत जुटाउन नेकपा एमालेले एकीकृत समाजवादीलाई फकाउने प्रयास थालेको छ । पूर्वमुख्यमन्त्री शेरधन राईले राजेन्द्र राईलाई धरानमा भेटेर आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेका हुन् ।
उनीहरू दुवै नेताको घर भोजपुर हो । आइतबार राति धरानमा भएको भेटवार्तामा कोशी प्रदेश सरकार जोगाउने विषयमा छलफल भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधनले एकीकृत समाजवादीका सचिव राजेन्द्रलाई अहिले एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
अहिले हिकमत कार्की ठूलो दलको हिसाबमा मुख्यमन्त्री नियुक्त भएका छन् । तर उनीसँग बहुमत छैन । बहुमत जुटाउन सत्ता गठबन्धन भत्काउनुपर्ने बाध्यता एमालेलाई छ । यदि गठबन्धन भत्काएर विश्वासको मत पाउन नसके कोशीमा मुख्यमन्त्री पदमुक्त हुनेछन् ।
धारा ५ मा सरकार बनाउन सत्ता गठबन्धनले मौका पाउँछ । शेरधनले राजेन्द्रलाई अहिले हिक्मत कार्कीलाई विश्वासको मत दिन र पछि मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन् । भदौ २२ गते बनेको कार्की नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाए ढल्नेछ । त्यसपछि धारा ५ अनुसार सरकार बन्ननसके कोशीमा मध्यावधि निर्वाचन हुनेछ ।