पूर्व क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा परिचित उर्लाबारीस्थित मोरङ् मोडेल कलेजले नवआगन्तुक विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार उर्लाबारी-७ स्थित उर्लाबारी पार्टी प्यालेसमा आयोजित एक भव्य समारोहबिच कक्षा ११ र विविएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत तथा विविएस चौथो वर्षमा अध्ययन सकेर पास आउट भएका विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा कक्षा ११ मा २ सय ४० जना र विविएस प्रथम वर्षमा ७२ जना नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । यस्तै ४४ जना विविएस पास आउट भएका विद्यार्थीहरुलाई विदाई गरिएको कलेजका प्रिन्सीपल सन्दिप पौडेलले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले शैक्षिक क्षेत्रमा मोरङ् मोड्लको योगदानको चर्चा गर्दै विद्यार्थीहरुलाई आफ्नो अध्ययनका अलवा अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागी हुन सुझाव दिएका छन् ।
यस्तै उनले संस्कारसहितको शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले विद्यार्थीलाई किताबी ज्ञानका साथै संस्कार पनि सिकाउनु पर्ने बताए । गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक सबैको उत्तिकै भूमिका रहनुपर्ने बताउदै नगर प्रमुख खरेलले कलेज तहमा अध्ययन गर्ने विद्यार्थीहरु गलत संगत र विभिन्न प्रलोभनमा परेर लागुऔषधमा फस्ने गरेको पाईएकोले अभिभावक र कलेज प्रशासनलाई त्यसप्रति गम्भिर भएर लाग्न आग्रह गरे । उनले शैक्षिक संस्था वरिपरी गुट्खा, खैनी, चुरोटलगायतका वस्तुहरु विक्री वितरणमा रोक लगाइने जानकारी दिए ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा संचार क्लव नेपालका पूर्व अध्यक्ष घनश्याम भण्डारी, कलेजका प्राध्यापक मोहन बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पहिलो चरणमा आयोजित औपचारिक कार्यक्रममा कलेजले दुई जना विद्यार्थीहरुलाई उत्कृष्ट घोषित गरी पुरस्कृत गरेको थियो । विज्ञान संकाय कक्षा १२ मा अध्ययनरत छात्र प्रज्वल कार्कीडोली र व्यवस्थापन संकायकी कक्षा १२ मा अध्ययनरत छात्रा कृटिना श्रेष्ठ वर्ष २०७९ को उत्कृष्ट विद्यार्थी घोषित भए । उनीहरु दुवैजनालाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
यस्तै विभिन्न सांगेतिक प्रस्तुतीहरुसहित विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम दोस्रो चरणमा सम्पन्न गरिएको थियो।
कलेजका संचालक समिती अधयक्ष थरेन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य विविएस चौथो वरणषमा अध्ययनरत छात्र अर्जुन रिजालले राखेका थिए भने कार्यक्रमको संचालन प्राध्यापक पून्यप्रसाद घिमिरेले गरेका थिए ।
२०३७ सालमा स्थापित मोरङ् मोडेल कलेज हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्न सफल बन्दै आएको छ ।स्थापना कालदेखी नै पढाईका अलवा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराउदै आएको उक्त कलेजले जिवन उपयोगी शिक्षा प्रदान गराउदै आएको छ ।