दमक/ ५९ औं राष्ट्रिय बाल दिवस शुक्रबार दमकमा विबिध कार्यक्रम गरी मनाइएको छ ।  दमकका सबै बिद्यालयहरुमा आन्तरिक रुपमै बिद्यार्थीहरुले रचनात्मक र मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै यो दिवसमा रमाएका छन ।

दमक नगरपालिकाका शिक्षा अधिकृत प्रविण खडकाले सबै बिद्यालयमा बाल क्लबहरु क्रियाशील रहेका कारण उनीहरुकै सहभागिता र सक्रियतामा बिद्यालय बिद्यालयमै बाल दिवस मनाउन सर्कुलर गरिएको जानकारी दिए ।
दमकस्थित ग्लोबल एजुकेशन एकाडेमीले साँस्कृतिक कार्यक्रमसहित विभिन्न क्षेत्रका चार जनालाई सम्मान गरेको छ । कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यमा बिद्यालय प्रागंणमा आयोजित कार्यक्रममा प्याव्सन झापाका संस्थापक एवं पुराना शैक्षिक व्यक्तित्व मनोज राई, कलाकारिता क्षेत्र मार्फत योगदान दिएका हेमन्त बुढाथोकी , सामाजिक तथा प्रेरक व्यक्तित्व भेषराज न्यौपाने र साहित्यीक व्यक्तित्व तोया चापागाइँलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा शैक्षिक सरोकारवालाहरु विभिन्न व्यक्तित्वहरुको विशेष आतिथ्य रहेको थियो । सो अवसरमा बिद्यालयका बालबालिकाहरुले सन्देशमुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । दिवसको अवसरमा बालबालिकासँग सरोकार राख्ने विभिन्न संघ , संस्था र सरोकारवाला निकायहरुले कार्यक्रम गरेका छन । नेपालमा विसं २०२१ मा नेपालमा पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो ।

Facebook Comments Box