दमक/ सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
पर्यटन मन्त्री सुदन किरातीका अनुसार नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय पनि भएको छ । अन्त्येष्टिका दिन सो बिदा दिइने निर्णय भएको उनले बताए । छोराहरू विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । नेम्वाङको गएराति निधन भएको थियो ।

तीन दिन पार्टी झण्डा झुकाइने
नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए ।
पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिए । नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।

Facebook Comments Box