दमक, झापाको दमक नगरपालिका वडा नं ६ देवकोटा चोक आसपास दाहिनेगढी टोलमा  सर्पट नापी टोलीले गम्भिर त्रुटी गरिदिदा स्थानीयबासीहरु अन्यायमा परेका छन ।
सर्पट टोलीमा खटिएका प्राविधिकहरुले सडक नक्सांकन गर्ने सिलसिलामा सो स्थानमा नआई कार्यालयमा बसेर आफूखुशी त्यहाँको सडकको उत्तरतर्फका ६ परिवारको घर बसोबास रहेको क्षेत्रलाई समेत सडक कायम गरिदिँदा उनीहरु अन्यायमा परेका हुन ।
सो स्थलमा जग्गा नापजाँच सम्बन्धिको सर्पट टोलीले आफूखुशी बाटो कायम गरिदिएपछि ति परिवार समस्यामा परेको भन्दै स्थानीय सरकारले समेत मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।
दमक नगरपालिका कार्यालयले मालपोत कार्यालयलाई लेखेको पत्रमा सो वडाको सिट नं १७९००१६०५ अन्तर्गतको कित्ता नं ८, ९, १०, ११, १२ र ४८ को जग्गा सर्पट नापी गर्दा बाटोको नक्सांकन घरभित्र परेकाले सो सम्बन्धिमा सोको अवस्था यकिन गर्न सहकार्य तथा सहयोग गरिदिनु भन्ने उल्लेख छ । गएको असार १७ गते लेखेको पत्र मालपोत कार्यालयमा पुगेको छ ।
वडा कार्यालयबाट थप सिफारिस कागजात प्राप्त भएपश्चात नियमानुसार कारवाही गर्ने गराउने भन्ने मालपोत कार्यालय प्रमुखले मुद्धा फाँटलाई आदेश गरेका छन ।
वडा कार्यालयले थप सिफारिस कागजात दिन नमान्दा सो प्रकृया अवरुद्ध हुन पुगेको पीडितहरुको गुनासो छ ।

हामीले पहिला जग्गा खरिद गर्दा त्यहाँ १६ फिट बाटोको चौडा रहने र त्यसमध्ये उत्तर र दक्षिण दुवैतर्फबाट ८, ८ फिट बाटोको भाग छोडनुपर्ने भनिएको थियो तर सर्पटले दक्षिणतर्फबाट बाटोको भाग नलिई हाम्रो उत्तरतर्फबाट मात्रै १८ फिट चौडा भएको बाटो कायम गरिदिएछ, पीडित कृष्णबहादुर बस्नेतले भने ।
उत्तरतर्फ बस्नेतसहित जगतबहादुर लिम्बु, जमुना दाहाल क्षेत्री, कमल बुढाथोकी, सुन्दरदेवी साह र पुष्पा रानामगरका नाममा रहेको जग्गामा पूर्व शर्त अनुसार ८ फुटका दरले चौडा छोडेर नगरपालिकाबाट स्वीकृति लिएर बनाइएका घर छन ।
हामीले स्थानीय सरकारबाट स्वीकृति लिएर बनाइएका घर भित्रै सर्पटले बाटो कायम गरिदिएछ, हामीले सडक स्तरोन्नतीका लागि नगरपालिकाबाट प्रकृया अघि बढाएपछि मात्रै थाहा पायौं, हामीमाथि सरासर अन्याय भयो । जग्गा अलि फराकिलो भएका कतिपय जग्गाधनीको त तीन धुर सम्म सडक कायम गरिएछ, दक्षिणतर्फबाट सडकका लागि जग्गा छोडिनुपर्नेमा एकतर्फी हामीलाई मात्रै जग्गा छोडन लगाउने कुरामा हाम्रो सहमति छैन, पीडित परिवारहरुले एकै स्वरमा भनेका छन ।
सुन्दरदेवी साहले सो ठाउँमा २०६५ असोज २ गते घर निर्माण सम्पन्नको कागजात नगरपालिका कार्यालयबाट लिएकी छन भने जमुना दाहाललाई पनि २०६२ सालमानै घर नक्सा पासको प्रमाण पत्र दिइएको छ भने त्यस्तै पुष्पा रानामगरलाई २०६४ सालमा र कृष्ण बस्नेतले ०६७ साल बैशाखमा घर निर्माण सम्पन्नको प्रमाण नगरपालिकालेनै दिएको छ । घरभित्रै बाटो कायम भएको पाइएपछि आफूहरु सो नक्सांकन सशंोधनका लागि पटक पटक विभिन्न निकायमा पुगेको पीडितहरुको गुनासो छ । पीडितहरुलाई नापी कार्यालयका अमिन तथा हाकिमले भित्र पस्नै नदिएका कारण आफूहरु न्यायका लागि सार्वजनिक अपिल गर्न बाध्य भएको बताएका छन । नापी कार्यालयले आफूहरुको माग र समस्याका बिषयमा सुन्नै नखोज्नुका पछाडी गम्भिर रहस्य हुन सक्छ, हामीले सडक स्तरोन्नतीको लागि लागत सहभागिता समेत जुटाइसकेका छौं, बाटोको नक्सांकनको समस्या हल गर्न प्रयास गरिएको छैन । नगरपालिकाको न्यायीक समितिमा यश विषयमा परेको उजुरी पछि वडा सदस्य डेन्जोङ लामाको संयोजकत्वमा पीडितहरुलाई जग्गा बिक्री गर्ने ब्यवसायी समेत रहेका भगवान बस्नेतसहितको एक समिति गठन गर्ने काम भएको छ । तर नापी कार्यालय र सम्बन्धित वडा कार्यालयले नक्साङ्कन संसोधन गर्ने प्रयास गरेको छैन, पीडित बस्नेतले भने । त्यहाँको समस्यामा अर्को पक्ष बाटो दक्षिणतर्फका जग्गाधनीलाई बोलाइँदैन र एकोहोरो हामीलाई मात्रै बाटोको पूरै भाग बोकाउन खोजिन्छ, जबकी हामीले त्यहाँ सडकका लागि छोडनुपर्ने भाग पहिल्यै छोडेर नगरपालिकाको अनुमतिमा घर बनाएका छौं , अहिले हाम्रो घरभित्र बाटो पसाएर हामीलाई विस्थापित गर्न खोजिएको छ हामीले बिकास विरोधीका रुपमा दर्ज गर्न खोजिदैंछ यो सरासर अन्यायपूर्ण छ । पीडितहरुले आफूहरुले जग्गा लिनु अघि गरेको पूर्व शर्त अनुसार र नगरपालिकाको मापदण्ड भित्र रहेर बनाइएका घर संरचना हामी भत्काउँदैनौं, दक्षिणतर्फबाट पनि सडकको भुभाग छाडिनुपर्छ , पीडित ६ परिवारको सामुहिक माग छ ।

Facebook Comments Box