दमक/ श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस बर्ष पनि पूर्वका विभिन्न शहर तथा ग्रामणि भेगमा बृहत जनसहभागितामा निकालिएको छ । बिहिबार (आज) निकालिएको रथयात्रामा सर्वसाधारणहरु उत्साहपूर्वक सहभागी भएका छन ।
दमक, गौरादह, गौरीगञ्जसहित विभिन्न ठाउँमा राधाकृष्ण रथयात्रालाई व्यवस्थित रुपमा गन्तव्य सम्म पुरयाउन सुरक्षाकर्मी,ट्राफिक प्रहरीसँगै विभिन्न सामाजिक, धार्मिक संघ संस्थाका स्वयंसेवकहरु खटिएका छन । भगवान् श्रीकृष्ण जन्माष्टमीको उल्लास मनाउन कृष्ण राधाकृष्ण रथयात्रा निकालिने परम्परा अनुरुप रथयात्रा निकालिएको हो ।
दमकमा श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजना तथा स्थानीय एक दर्जन बढी सामाजिक तथा धार्मिक संघसंस्था समूहको सक्रिय सहभागितामा निकालिएको रथयात्रा अघिल्ला बर्षभन्दा व्यवस्थितसंगै वृहत भएको रथयात्रा आयोजक समितिका संयोजक रोहित आचार्यले बताएका छन् ।
दमक ७ स्थित राधा कृष्णमन्दिर बाट विशेष कार्यक्रम गरि निकालिएको रथयात्रा हनुमान मन्दिर, पशुहाट, दमक चौंक, बेलडागी रोड,भृकुटी चौक हुदै वजार परिक्रमा गरि पुनः शुभारम्भस्थलमा पुगेर समापन गरिएको थियो । दमकको रथयात्रा नियाल्न यस क्षेत्रबाट निर्वाचित कोशी प्रदेश सभा सदस्य होमबहादुर थापासहित स्थानीय जनप्रतिनिधिहरु पुगेका देखिन्थे ।
रथयात्रालाई बाटो बाटोमा पुष्पबृष्टी गराएर स्वागत समेत गरेका थिए । भगवान श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेर विजयी हासिल गरेको विश्वाससहित कृष्णको स्मरण गराउन रथयात्रा निकाल्ने गरिएको छ । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।
दमकको रथयात्रामा दमकका धार्मिक तथा सामाजिक संघ संस्थाहरु, मैथिली तथा मारवाडी समुदायको विशेष सक्रियता रहँदै आएको छ । रथयात्राले विभिन्न जाती समुदायलाई एकताको शुत्रमा बाँधेको देख्न सकिन्छ ।
रथयात्रामा दमकमा रहेका मारवाडी सेवा समिति, श्याम परिवार, दमक युथ क्लब, राधाकृष्ण मन्दिर, स्काउट, राधाकृष्ण किर्तन मण्डली, जाल्पादेवी किर्तन मण्डली, रोटरी क्लब अफ दमक, विभिन्न लायन्स क्लबहरु, दमक जेसीज,साथीभाई समूह, होटल व्यवसायी संघ , क्लब हिमालय टाइगर, पहिलो पाइला नेपाल, जिवन चक्र समाज लगायतले सहभागिता जनाएका थिए ।
यसैगरी विराटनगरमा कोशी प्रदेशमै सबैभन्दा धेरै भक्तजनहरुको सहभागितामा रथयात्रा निकालिएको छ भने गौरीगञ्ज,भद्रपुर लगायतका ठाउँमा पनि ठुलो संख्यामा भक्तजनहरु रथयात्रामा सहभागी भएका छन् । पछिल्ला वर्षहरुमा पूर्वी तराईका धेरै स्थानहरुमा राधाकृष्ण रथयात्रा निकालिने क्रम बढ्दै गएको छ ।
यसैगरि, श्रीकृष्ण जन्मअष्टमीका अवसर पारेर कमल ५ मंगलवारेस्थित सगुन युवा क्लवले पनि विभिन्न कार्यक्रम गरेको छ ।







