उर्लाबारी / सप्तकोसी नदीमा वेपत्ता भएको १० दिनपछि शव फेला परेका दमक १ का डा. प्रज्वल कोइरालाको आज अन्त्येष्टी गरिएको छ ।
दमक–१ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत रहेका ३२ वर्षीय सर्जन डा. कोइरालाको शव मङ्गलवार अपराह्न फेला परेपछि आवश्यक कानुनी प्रकृया पूरा गरेर आज बुधबार कन्काईमा अन्त्येष्टी गरिएको हो ।
उनको शव वराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको भँगालोमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार शव सडे गलेको अवस्थामा फेला परेको थियो, यद्यपी आफन्तले उनको शव पहिचान गरेका थिए ।
कोसीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आफन्तले शवको पहिचान गरेपछि पोस्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरी अन्तेष्टी गरिएको छ । उनको झापाको कन्काई माईमा बुधबार साँझ गरिएको छ । भदौ १० गते राति सप्तकोसी नदीको छेउमा कार छोडेर डा. कोइराला बेपत्ता भएका थिए ।
बेलका नगरपालिका–८ मा कार पार्किङ गरेर उनी बेपत्ता भएका थिए । सप्तकोसी नदीको पुलको बिच भागमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो ।
कोइराला ट्रमा सेन्टरमा सेवा गर्नुअघि उर्लाबारीको अरनिको अस्पताल र दमकको लाइफलाइन अस्पतालमा काम गर्थे । उनले आत्महत्याको बाटो रोज्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गाडी राखेको क्षेत्रमा लगाइएको सिसि क्यामेरा फुटेजमा उनी चतराको पुलमा यता उता गरेको देखिन्छ ।
प्रहरी श्रोतका अनुसार अन्तिम समयमा उनकी प्रेमिका भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ ।
ती युवतीसंग बयान लिँदा दूईजनाबीच प्रेम भएको समेत पाईएको छ ।
सीसिफुटेज, मोवाइल कल डिटेल्स र ति युवतीसँगको बयान समेतलाई आधार मान्दा डा. कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो ।

 

Facebook Comments Box