दमक/ सत्तारुढ नेकपा सम्बद्ध तत्कालिन युवा संघ नेपाल र वाइसिएलबीचको एकता पछि बनेको राष्ट्रिय युवा संघ नेपालमा लामो समयदेखि रहँदै आएको पदीय जिम्मेवारी बाँडफाँडको बिषय निष्कर्षमा पुगेको छ ।
संघका केन्द्रिय संयोजक रामप्रसाद सापकोटा ( दीप शिखा) र र सहसंयोजक रमेश पौडेलले हस्ताक्षर गरी आज जारी गरेको विज्ञप्तीमा संगठनको केन्द्रिय समितिमा पछि ४ जना मनोनित सहित ३३५ सदस्यीय बनाउने अनुमति पार्टीसंग लिने, ३३१ मध्ये तत्कालिन युवा संघबाट १७६ र वाइसिएलबाट १५५ जना राख्ने, १११ सदस्यीय सचिवालयमा युवा संघबाट ५७ र वाइसिएलबाट ५२ जना राख्ने, ७ प्रदेश मध्ये ४ प्रदेशमा तत्कालिन युवा संघ र ३ प्रदेशमा तत्कालिन वाइसिएलले नेतृत्व गर्ने, ७७ जिल्ला मध्ये ४२ मा युवा संघ र ३५ जिल्लामा वाइसिएलले नेतृत्व लिने पनि निर्णय भएको उल्लेख छ ।
एकता प्रकृयालाई शीघ्र टुंग्याउन भोली २७ भदौमा पदाधिकारीको संयुक्त बैठक, पदभार ग्रहण र पेरिसडाँडामा कार्यालय उद्घाटन गर्ने पनि तय भएको तत्कालिन वाइसिएल नेपालका प्रदेश नम्बर १ का संयोजक कर्म पूलामीले जानकारी दिए ।