दमक / आप्रवासी महिला कामदार समुह (आमकास) नेपालले घरेलु कामदारका रुपमा विदेश जान लगाइएको रोक हटाउनु पर्ने माग गर्दै व्यवस्थित रोजगारीको सुनिश्चितता गर्न माग गरेको छ ।
सो संस्थाले सोमबार र मंगलबार (आज) धरान ४स्थित भेडेटारमा कोशी प्रदेशस्तरीय गोष्ठी तथा बहसको आयोजना गर्दै स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु मार्फत नेपाल सरकारसँग त्यस्तो माग गरेको हो ।

खाडी मुलुकमा घरेलु कामदार लैजान लगाइएको प्रतिबन्धका कारण अबैध रुपमा भिजिट भिजामा महिलाहरु दुवई लगायतका विभिन्न देशमा पुरयाइने गरेको र भिजाको म्याद सकिएसँगै अवैध रुपमा अन्य प्रतिबन्धित देशहरुमा अबैधानिक रुपले बस्दा महिलाले धेरै समस भोगिरहनु परेको तर्फ राज्यको ध्यान जानु पर्ने सो संस्थाको माग छ ।
छलफलमा २०७२ सालमा नेपालका अगुवा परिचित तथा अनुभवी महिला आप्रवासी अधिकारकर्मीहरुद्धारा स्थापना गरिएको सो समुहले वैदेशिक रोजगार सम्बन्धि कानुनहरु महिला मैत्री हुनुपर्ने आवाज उठाउँदै आएको आमकासकी कार्यकारी विजया राई श्रेष्ठले बताइन ।


आप्रवासी घरेलु कामदारहरूले रोजगारीका सिलसिलामा विदेशमा मात्रै नभएर स्वदेशमै गाउँ घरमा आउने एजेन्टबाट र विमानस्थलका कर्मचारीहरुबाट समेत समस्या भोग्नुपर्ने अवस्थाको निराकरण हुन नसकिरहेको सहभागीहरुले गुनासो गरेका थिए । सरकारले महिलालाई विदेशमा काम गर्न जान रोक लगाउनु समस्याको समाधान नभई यसलाई व्यवस्थित र भरपर्दो सम्झौताको वातावरण बनाउनु पर्ने पनि सहभागीहरुले उल्लेख गरे ।
आमकासले सन २०१७ देखिनै सुरक्षित आवास गृह सञ्चालन गरिरहेको महिनामा औसत २५ जना महिलाहरुले सो आवासगृहमा सेवा लिइरहेको कार्यक्रममा जनाइयो । यो संस्थामा हाल सम्म ३ हजार भन्दा बढी महिला आप्रवासी कामदारहरु संलग्न भइसकेका कार्यक्रममा जनाइयो । आम्कासकी कानुन अधिकृत सदिक्षा महर्जनले कानुनी ज्ञानको अभावमा अधिकारबाट बञ्चित धेरै नेपाली महिला कामदारहरुलाई सो संस्थाको पहलमा न्याय दिलाइएको फेहरिस्त उल्लेख गरिन ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य सपना परियारले नीतिगत रुपमै आप्रवासी महिला कामदारहरुको विदेशमा मात्रै नभएर स्वदेश फर्किएपछि पनि रोजगार सुनिश्चितताको वातावरण बनाइनु आवश्यक भएको बताइन । उनले आफनो तर्फबाट राज्यलाई त्यस किसिमको नीति निर्माणमा पहल गर्ने प्रतिबद्धता पनि जनाइन ।
पुष्पा थापाको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, धरान उपमहानगरका उपमेयर अइन्द्रविक्रम बेघा, सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता रोशन ढकाल लगायतले स्थानीय तहमा महिला अधिकार, रोजगार र आयआर्जनका लागि भइरहेका प्रयासहरु, कानुनी बाधा व्यवधानहरु ल्गायतका बिषयमा चर्चा परिचर्चा गरेका थिए ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका ८० भन्दा बढी महिलाहरुको सहभागिता रहेको आम्कास नेपाल झापा जिल्ला अध्यक्ष अमला चाम्लिङले जानकारी दिइन ।