दमक/ नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीमा आमूल रुपान्तरण र सुधारको खाँचो रहेको बताएका छन् ।
देशकै अभिभावक रहेको कांग्रेसमा रुपान्तरण र सुधारको खाँचो रहेको बताउदै अव पनि हामी सबै पार्टी निर्माणमा नलाग्ने हो भने यो पार्टी धराशायी हुने अवस्था आफूले देखेको दावी गरे ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ प्रदेशसभा (ख ) को आज दमकमा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वले अब पनि कमीकमजोरी नसच्याए सकिने अवस्था आउने चेतावनी दिए । उनले पार्टीमा रुपान्तरणका लागि सदस्यता वितरणदेखि अवसरको बाँडफाँटसम्म नै पारदर्शिताको खाँचो रहेको भन्दै त्यसका लागि अभियान चलाउनुपर्नेमा जोड दिए । सदस्यता प्रणालीदेखि टिकट वितरणसम्म सिन्डिकेट रहेको भन्दै उनले यसको अन्त्य हुनुपर्ने बताए ।
पार्टीमा सुधार र परिर्वतनको कुरा गरेमा पार्टीमा कुनै पनि अवसर नपाउने त्राससम्म रहेको भन्दै उनले पार्टी सुधारका लागी कुनै पनि कुरा गुमाउन तयार रहेको स्पष्ट पारे । पार्टी बिधिसम्मत चले सबैको भविष्य रहेको भन्दै नेता घिमिरेले त्यसका लागी पार्टी नेतृत्वको गलत कार्यको पार्टीभित्रैबाट भण्डाफोर गर्नुपर्ने समय आएको औल्याए ।
उनले भने,–‘हामी सबै नेता,कार्यकर्ताले सहिलाई सहि र गलतलाई गलत भन्न सक्नु पर्छ, यसले मात्र पार्टी बलियो मात्र नभएर संस्थागत पनि बन्ने छ ।’ नेता घिमिरेले पार्टीका हरेक युवा कार्यकर्ताले आफ्नो मनको आगोलाई राँको बनाएर अगाडि देखिनुपर्ने बेला भएको जोड दिए ।
प्रदेश समितिले बिगतमा गरेका उल्लेखनिय कार्यक्रमहरु र भावी कार्यक्रम सहितको राजनीतिक, सामाजिक तथा आर्थिक प्रतिवेदन सभापति रबि के सि न्यौपानेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश सहमहामन्त्री खडग फागो, पूर्व केन्द्रीय सदस्य दिलिप राई, जिल्ला सभापति देउमान थेवे, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी , महाधिवेशन प्रतिनिधिहरु अनिलकृष्ण प्रसाई, मेदनीप्रसाद सिटौला, डा. नेत्र बुढाथोकी , दमक नगर सभापति प्रकाश प्रसाइँ लगायतले धारणा राखेका थिए ।
नेपाली कांग्रेस प्रदेश क्षेत्र सभापति रवी केसी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सुरेन्द्र कटुवालले स्वागत मन्तव्य राखेका थिए ।