दमक/ शनिबार मध्यान्ह दमक चोकमा प्रहरीको टोलीले एकाएक सुरक्षा निगरानी बढायो ।
दमक चोक ट्याक्सी स्टेण्ड आसपासमा मानिसहरुको जमात बढदै जाँदा सशस्त्र र जनपथ प्रहरीका उच्च अधिकारीहरुसहितको टोली आपसी समन्वयमा परिचालित भएको देखिन्थ्यो ।
ट्याक्सी स्टेण्ड भएर कस्मिक पार्टी प्यालेस तर्फ जाने बाटोको वारीपारी जम्मा भएका करीब ५०/६० मानिसहरुको जमातको तीन उद्धेश्य देखिन्थ्यो । एउटा जमात नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि एमाले नेता, कार्यकर्ताहरुको थियो ।


अर्को जमात ओलीलाई कालोझण्डा देखाउने पूर्व तयारीमा यताउता गरिरहेको देखिन्थ्यो भने अन्य सर्वसाधारण त्यहाँँको दृश्यावलोकन गर्दै रमिता हेरेर मज्जा लिइरहेका देखिन्थे ।
प्रहरीले आफनो जनशक्ति थपेको थप्यै थियो । हातमा लाठी र आवश्यक सुरक्षा बन्दोबस्तीका सामग्रीसहित जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन भएको देखिन्थ्यो भने ट्राफिक प्रहरी बाटो किनारमा रोकिएका , आउजाउ गरिरहेका सवारी साधनहरुलाई व्यवस्थित बनाउन खटिएको देखिन्थ्यो ।

त्यहीबीचमा पहिचानवादीको एक समुह आक्रामक शैलीमा एमाले अध्यक्ष ओली विरुद्ध नाराबाजीमा उत्रियो । कोशी प्रदेश खारेजी, पहिचानसहितको प्रदेशको नामांकन लगायतका मागसहितको नारा चर्काइरहेका प्रदर्शनकारीहरुको सानो समुहले केपी ओली मुर्दावाद , ..लगायतका उच्छृखंल नाराहरु पनि चर्कैसँगै लगाइरह्यो । प्रदर्शनकारीहरुले ओली एमालेले कस्मिक पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा आउनै लागेको सूचना पाएर नारा चर्काउँदै सडकतर्फ निस्किएपछि त्यहाँ एमाले समर्थित कार्यकर्ता र युवा संघका नेता कार्यकर्ताहरुपनि केपी ओली जिन्दावाद …सहितका नारा लगाउँदै कार्यक्रमस्थलतर्फ लाग्यो ।

त्यो बाटो भएर न एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली कार्यक्रमस्थल गए न उनीहरुको विरोधको स्वर  नै सुन्नु पर्यो ।   न त प्रदर्शनकारीहरुले कालोझण्डा देखाउनै पाए । त्यहाँको दृश्य केवल रमितामा सिमित भयो । अध्यक्ष ओली भने प्रदर्शनकारीहरुलाई झुक्याउन सफल हुँदै अर्को बाटो भएर कार्यक्रमस्थल पुगे । उनी दमकमा करीब ४ घण्टा सम्म कार्यकर्ताहरुसँग व्यक्तिगत भेटघाट र भलाकुसारी गरेर मात्रै २.३० मा कार्यक्रमस्थल पुगेका थिए । यसको सुइँको प्रदर्शनकारीहरुले पाउन सकेनन ।


झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ओलीले आफनो क्षेत्रका नेता कार्यकर्ताहरुको भेलालाई औपचारिक कार्यक्रमकाबीच सम्बोधन समेत गरेका छन । ओलीसँगै त्यहाँ नेता रघुबिर महासेठ, विशाल भट्टराई लगायत करीब एक दर्जन केन्द्रीय नेताहरु कार्यक्रममा उपस्थित भएका छन ।

सो क्रममा उनले अहिलेको चर्चिन गिरीबन्धु चियाबगानको जग्गा सट्टापट्टा सम्बन्धी काम कानुन संशोधन गरेर भएपनि आफैंले गरेको स्वीकार गरेका सहभागी कार्यकर्ताहरुले बताएका छन । ओलीले सो प्रकरणलाई नेपालको प्रचलित कानुन, नियमानुसारनै भएको दाबी पेश गर्दै त्यसको जिम्मा आफूले लिने पनि उल्लेख गरेका छन ।
काठमाडौंबाट विराटनगर हुँदै मधेस प्रदेशमा पार्टीको एक आन्तरिक भेलामा सहभागी हुन आएका अध्यक्ष ओली प्रतिकूल मौसम र झरीका कारण कार्यक्रमस्थलमा असहज भएकाले एकाएक दमक आउने कार्यक्रम शुक्रबार साँझ मात्रै तय भएको थियो । उनी शनिबारनै गौरीगञ्ज पनि पुगेका छन । उनी अझै केही दिन पूर्व क्षेत्रमा रहने एमाले स्रोतले जनाएको छ ।

Facebook Comments Box