नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आइतबार पाकिस्तान जाने भएका छन्।  उनीविरुद्ध एक किशोरीले दिएको बलात्कारको मुद्दामा अन्तिम सुनुवाइका लागि पेशी तोकिएपछि यसअघि टोलीसँगै नगएका सन्दीप मुद्दाको फैसला हुन समय लाग्ने देखिएपछि पाकिस्तान जाने तयारीमा लागेका हुन्।

आइतबारका लागि मुद्दाको पेशी तोकिए पनि ८ औं नम्बरमा रहेकाले त्यही दिन सुनुवाइ हुने सम्भावना कम छ। यदि त्यो दिन पनि सुनुवाइ नभए सन्दीप पक्षले नै एसियाकप पछि मात्रै मुद्दाको पेशी राख्न अनुरोध गर्ने भएको छ।

यसअघि अदालतले जाहेरवाली किशोरीकी आमाको उमेर यकीन गर्न आदेश दिएको थियो। अस्पतालमा उमेर यकीन गरेर कागजात पठाइसकेको छ। यस बारेमा क्यानलाई जानकारी गराएको र आइतबार नै पाकिस्तान पठाउने तयारी गर्न भनिएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।  त्यही दिन फैसला भए र दोषि ठहरिए मात्रै सन्दीप रोकिने छन्। अन्यथा उनी एसियाकप खेल्नेछन्।

नेपाली क्रिकेट टोलीका अन्य सदस्य भने मंगलबार राती पाकिस्तान पुगेको छ। नेपालले १३ भदौमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्ने छ।

Facebook Comments Box